दमक ,५ फागुन । नागरिक उन्मुक्ति पार्टीले प्रदेश नम्बर १ को नामकरणलाई लिएर भईरहेको पहिचानवादीहरुको आन्दोलन प्रति ऐक्यवद्धता जनाउदै प्रदेशको नामकरण पहिचानको आधारमा झल्काउने गरि कोचिला, किरात, लिम्बुवान प्रदेश (कोकिलि) नामाकरण गर्न माग गरेको छ ।
पार्टीका राष्ट्रिय अध्यक्ष रेशमलाल चौधरीको अध्यक्षतामा इलामको चुलाचुली गाउँपालिका वडा नंम्बर ४ स्थित आइतबारेमा आइतवार बसेको प्रथम केन्द्रीय सचिवालय बैठकले प्रदेश १ को नामाकरण “कोकिली” बारे पहिचानवादी संघसंस्था र सबै राजनीतिक दलहरुसँग निरन्तर छलफल चलाउने लगायतका निर्णय गरिएको पार्टीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकले संघ, प्रदेश र स्थानीय तहको आसन्न उप–निर्वाचनबारे ब्यापक छलफल गरी पार्टीको तर्फबाट उम्मेद्वारी दिने, पार्टीको केन्द्रीय महासमिति सदस्य विस्तारलाई समानुपातिक समावेशी वनाउने साथै भूमिमा देखिएको समस्या समाधान गर्न सरकारसंग माग गर्ने निर्णय गरिएको उपमहासचिव दिलकुमार लावतीले बताए ।
साथै,बैठकले सहकारीका पीडितहरुलाई राहत दिने तथा कानुन विपरित कार्य गर्ने सहकारीलाई कारवाहीको दायरामा ल्याउन विज्ञहरुको टोली गठन गरि तत्काल समस्या समाधान गर्न पहल गर्ने समेत निर्णय भएको उल्लेख छ ।