निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै झापा–५ का केही शिक्षक

झापा,४ फागुन । झापा-५ मा निर्वाचन आचारसंहिता उल्लङ्घनमा शिक्षकहरू नै संलग्न भएको पाइएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा नेकपा एमाले निकटका शिक्षकहरुले दमकको एक चुनावी कार्यक्रममा आचारसंहिता उल्लङ्घन गरेका हुन् ।
एमालेका अध्यक्ष एवं सोही क्षेत्रका उम्मेदवार केपी शर्मा ओलीको उपस्थितिमा र उनकै प्रशंसामा नेपाल राष्ट्रिय शिक्षक संगठनले आइतबार कार्यक्रम।गरेर निर्वाचनको निष्पक्षता र कानुनी मर्यादामाथि प्रश्न उठाएको छ ।

निर्वाचन आचारसंहिता अनुसार सरकारी सेवामा रहेका शिक्षक, प्राध्यापक तथा कर्मचारीहरू कुनै पनि राजनीतिक दलको प्रचारप्रसारमा सहभागी हुन, दलको सदस्यता लिन वा उम्मेदवारलाई राखेर राजनीतिक उद्देश्यका कार्यक्रम गर्न पूर्णतः बन्देज छ । तर, यी कानुनी प्रावधानहरूलाई चुनौती दिँदै झापा ५ का एमाले निकट शिक्षकहरूले खुलेआम राजनीतिक भेला गरी आफ्ना उम्मेदवार ओलीको पक्षमा माहोल बनाउने प्रयास गरेका छन् ।

आइतबार झापा आइपुगेका ओली निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा व्यस्त छन् । सोही क्रममा शिक्षक संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशको स्थिरता र विधिको शासनको कुरा गरे पनि आफैँले आचारसंहिता उल्लंघन गरेकोमा भने भेउ पाएनन् ।

कार्यक्रममा ओलीले जनअसन्तोषको नाममा हुने गतिविधिलाई अपराधिक भएको संज्ञा दिए । ‘जनअसन्तोषको नाममा गरिएका आपराधिक क्रियाकलापले देश अप्ठ्यारो परिस्थितिमा पुगेको छ । बङ्गलादेशपछि नेपालमा पनि उस्तै प्रकारको आन्दोलन सुरु गरियो,’ उनले भने ।

एकातिर देशमा अस्थिरता फैल्याउन खोजिएको भन्दै चिन्ता व्यक्त गर्ने र अर्कोतिर निर्वाचनको स्वच्छता कायम गर्न बनेको आचारसंहिता आफैँले उल्लंघन गर्नुलाई झापा ५ कै स्थानीय मतदाताले प्रश्न उठाएका छन् ।

आफ्नो सम्बोधनका क्रममा ओलीले अघिल्लो शिक्षक आन्दोलनमा घुसपैठ हुन सक्ने आशंकाका कारण समयमै सचेत भएर आन्दोलन स्थगन गरिएको जिकिर गरे । ‘शिक्षक आन्दोलनमा पनि घुसपैठ हुन सक्ने आशङ्का थियो, समयमै सचेत भएर आन्दोलन स्थगन गरिएकाले सम्भावित अप्रिय घटना टरेको हो,’ उनले भने ।

उनले शिक्षकका समस्या समाधानका लागि आफू र आफ्नो पार्टी सधैँ प्रतिबद्ध रहेको दाबी गर्दै वार्ता र समझदारीमार्फत समस्या हल गर्नुपर्नेमा जोड दिए । तर शिक्षकहरूलाई राजनीतिक दलको कार्यकर्ताको रूपमा प्रयोग गर्ने र निर्वाचनको मुखमा यस्ता भेलाहरू आयोजना गर्दा शिक्षा क्षेत्रको तटस्थतामाथि कस्तो असर पर्छ भन्ने विषयमा उनले केही बोलेनन् ।

राज्यको ढुकुटीबाट तलब खाने शिक्षकहरूले आफ्नो पेसागत मर्यादा भुलेर उम्मेदवारको गुणगान गाउनु र उम्मेदवारले पनि शिक्षकहरूलाई चुनावी हतियार बनाउनु लोकतन्त्रको उपहास भएको सोही क्षेत्रका नेकपाका उम्मेदवार रञ्जित तामाङले बताए । ‘यो दृश्य देखेर निर्वाचन आयोग के गर्छ रु,’ उनले प्रश्न गरे, ‘यसरी खुलेआम आचारसंहिता विपरीत शिक्षकहरू चुनावी प्रचारमा किन गए रु ’

उम्मेदवार ओली केही दिन झापाका विभिन्न स्थानमा मतदातासँग घरदैलो कार्यक्रममा व्यस्त रहने उनको सचिवालयले जनाएको छ । कानुनको पालक हुनुपर्ने प्रधानमन्त्रीजस्तो गरिमामय पद सम्हालिसकेका नेता र समाजका पथप्रदर्शक मानिने शिक्षकहरूबाटै आचारसंहिताको उल्लंघन हुनुले चुनावी प्रणालीलाई नै दूषित पार्ने खतरा बढाएको छ ।

कार्यक्रमका अवसरमा शिक्षक संगठनका अध्यक्षसमेत रहेका कार्यक्रम सञ्चालक लम्बोदर पौडेलले ‘हामी नेकपा एमालेको सरकार र झापालीको एक मात्र अभिभावक तपाईं केपी शर्मा ओलीको नेतृत्व हेर्न चाहन्छौं’ भन्दै प्रसंसा गरे । त्यस्तै उनले ‘सर्वहारा वर्गको कोखमा जन्मिएको, जनताको न्यानो काखमा हुर्किएको नेकपा एमाले।।।’ भन्दै पार्टीको पक्षमा बयान गरेका थिए । त्यसक्रममा उनले एमालेको सरकार हेर्नका लागि झापाली शिक्षकहरू आतुर रहेको पनि बताएका थिए ।

कार्यक्रममा झापा क्षेत्र नम्बर ५ का एमालेको चुनावी कमान्डरसमेत रहेका पूर्वमन्त्री देवेन्द्र दाहाल, शिक्षक संगठनका झापा जिल्ला भरका नेता तथा सदस्यहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published.