दमक,३ फागुन । कदम थिएटर दमकले नाटक ‘गाई कि त्रिशूल’ एक साता लामो मञ्चन शुरु भएको छ । दमकमा नियमित नाटक मञ्चन गर्दै आएको कदमले आफनो थियटरमा मंगलबारदेखि नाटक मञ्चन शुरु गरेको हो ।
चुलाचुली रंगमञ्चको चुलाचुली नाट्य पाठशालामा मञ्चन भएको नाटक चकलेटलाई थप परिमार्जन गरेर नाटक ‘गाई कि त्रिशूल’ मञ्चन शुरु गरिएको निर्देशक मनिक शंकरले जानकारी दिए ।
सर्वोदय बोर्डिङ स्कुलसँगको सहकार्यमा मञ्चन शुरु गरिएको उक्त नाटकमा बालमनोविज्ञानलाई समेटिएको अर्का निर्देशक दीपक खरेलले जानकारी दिए। ‘बालबालिकाले नियमित रुपमा पाउने दुई रुपैयाँको अभाव पछि उनीहरुको मनोविज्ञानमा परेको असरलाई नाटक ‘गाई कि त्रिशूलले समेटेको छ,’ खरेल भन्छन् ‘यो नाटक बालबालिकाद्वारा अभिनय गरिएको, बालमनोविज्ञान बोकेको नाटक हो । यस नाटक बालमैत्री पनि छ । तर यसलाई बाल नाटक भन्न हामी रुचाउँदैनौँ ।’ सामाजिक र राजनीतिक उथलपुथलले विद्यालयमा पढ्दै गरेका बालबालिकाहरुको मनोविज्ञानमा पु¥याएको असरलाई नाटकमार्फत देखाउन खोजिएको निर्देशक खरेल बताउँछन् ।
प्रकाश शर्मा अधिकारी र सिजन दाहालले नाट्य रूपान्तरण गरेको नाटक फागुन ८ गतेसम्म मञ्चन हुने भएको छ । कदम थिएटरले ‘विद्यालयमा रंगमञ्च’ अभियानमा दमकका केही विद्यालयहरुमा नाटक प्रशिक्षण गराइरहेको छ । यसैअन्तर्गत यो एक वर्षमा दमक कै सर्वोदय बोर्डिङका विद्यार्थीहरुलाई अभिनय कार्यशाला गराएपश्चात यो नाटक तयार पारिएको कदम थिएटरका कला निर्देशक सिजन दाहालले जानकारी दिए । नाटकमा दिप्लक राई, कुशल बस्नेत, नम्रता ओझा, गरिमा बस्नेत, अनिस्मा पौडेल, आयुस भण्डारी, सनोज तामाङ, इशान केरुङ लिम्बू, निराजन बस्नेत, मञ्जिल लिम्बु र एलेक्स नेपालीको अभिनय छ ।