
पथरीशनिश्चरे ,२ फागुन।मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा रहेको भुटानी शरणार्थी शिविरमा आज आगलागी हुँदा करिब ९ लाख बढीको समान जलेर नष्ट भएको छ।
सो स्थानमा रहेका ३ वटा परिवारको टहराहरू र तिनमा भएका सम्पूर्ण सामान जलेर नष्ट भएको हो । दिउँसो भएकाले मानवीय क्षति भने नभएको बताइएको छ।
आगोलागीबाट शिविरको ए १ हट नं १९ छाप्राका तिलक राईको पूरानो तीन वटा टहराहरुमा राखिएको महत्वपूर्ण कागजात वाहेक अन्य अत्यावश्यक खाद्यन्न , लुगाफाटा , भाडाकुडा मोवाइल ३ थान , साईकल २ थान , सिलिन्डर ग्यास २ थान ,३ तोलाको गरगहना र बन्दै गरेको कंक्रिट घरको लागि जोहो गरी राखेको ४ लाख बढिको नगद लगायतका सर सामान जलेर नष्ट भएको पीडित परिवारका छोरा अर्जुन राईले बताए ।
आज सोमबार दिउँसो ३.३० बजेतिर बंगुरको लागि चारो पकाउने क्रममा पुरानो टहरामा राखिएको दाउराबाट आगो सल्किन पुगेको पीडित परिवारले जनाएको छ ।
उक्त घटनामा तिलक राईको पूरानो हट सितै जोडिएका अन्य दुई छोरा रामचन्द्र र लक्षुमण राईको टहराहरु पनि जलेर खरानी भएका थिए ।
घटनास्थलमा उर्लाबारी नगरपालिकाको दमकलले मात्र अग्नि नियन्त्रण गरेको थियो भने बेलवारी तथा दमक नगरपालिकाबाट पनि दमकल नियन्त्रणका लागि ढिलो गरी आईपुगेका थिए ।
आगलागी भएको १ घण्टा पछि मात्र दमकल आइपुग्दा ठुलो क्षति भएको स्थानीयको गुनासो गरेको देखिन्थ्यो । घटनास्थलमा भेला भएका स्थानीयहरूले पथरीशनिश्चरे नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो ५ वर्षे कार्यकाल पूरा गर्नै लाग्दा सम्म पनि नगरपालिकाबाट दमकल खरीद गरी सेवा प्रदान नगरेको भन्दै आक्रोश पोखेका थिए ।
यसैबीच ,आजै शिविर व्यवस्थापन कमिटीका सचिव कुमार कृष्ण राईले शिविरमा रहेको आरसियूमार्फत उक्त घटनाबारे सम्वन्धित निकायमा जानकारी गराउदै पीडित परिवारको क्षतिपूर्ति दिलाउन कार्वाही अघि बढाईने बताए ।