कांग्रेस जिल्लामा पहिलो पार्टी बन्ने नेताहरुको जोड

दमक ,२ फागुन । नेपाली कांग्रेसका नेताहरुले झापा क्षेत्र नम्बर ५ मा सामाजिक सञ्जालमा अरुले बढि हल्ला गरे पनि नागरिकको मनमा कांग्रेसनै रहेको बताएका छन् ।
शनिवार क्षेत्र नम्बर ५ का अगुवा कार्यकर्ता भेलामा कांग्रेस केन्द्रीय सदस्य शुधिरकुमार शिवाकोटीले बिषेश महाधिवेशनबाट कांग्रेस परिवर्तन भईसकेकाले अहिलेको सबैभन्दा नयाँ पार्टी नेपाली कांग्रेसनै रहेको जोड दिए । सामाजिक सञ्जाल र मिडियामा अरुले हल्ला गरे पनि कांग्रेस समुन्द्र भएकाले धेरै हल्ला नगरिकन परिणाम निकाल्ने उनको भनाई थियो । नागरिकको गुनासोहरु सुन्दै परिवर्तित अवस्थामा कांग्रेस परिवर्तन भएर आएको सन्देश गाउँ गाउँमा पु¥याउन उनले कार्यकर्ताहरुलाई आग्रह गरे ।

भेलामा कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले मुलुक जटिल अवस्थामा पुगेको भन्दै अहिलेको अवस्थाबाट कांग्रेसले मात्रै मुलुकलाई सहि निकास दिन सक्ने विचार राखे । नागरिकको भरोसा कांग्रेसमै रहेकाले यस क्षेत्रबाट उम्मेद्वार बनेकी मन्धरा चिमरिया पौडेल बिजयी बन्ने उनले जिकीर गरे ।

त्यसैगरी उम्मेद्वार पौडेलले नागरिकको घर घरमा पुग्दा देखाएको सदासयताले आफु जित नजिक रहेको बताईन् । महिला भएको र यस अघि समेत आफु सामाजिक सेवामै समर्पित रहेकीले नागरिकको उत्साह आफुमा रहेको उनले बताईन् ।
कांग्रेस झापाका कार्यबाहक सभापति शेरबहादुर भट्टराईले झापाका पाँचवटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेद्वार बिजयी बन्ने आधार प्रस्तुत गरे । कांग्रेसले पाँचवटै निर्वाचन क्षेत्रमा लोकप्रिय उम्मेद्वार उठाएको, समावेसीतालाई ध्यान दिएको, युवाहरुको भावना समेटेको र पार्टी भित्र अभुतपूर्व एकता रहेको हुँदा कांग्रेस जिल्लामा पहिलो पार्टी बन्ने उनले बताए ।
जिल्ला सचिव कृष्ण हुमागाईंले भदौ २३-२४ को जेन्जी आन्दोलनलाई नेपाली कांग्रेसले मात्रै सम्बोधन गर्न सक्ने नागरिकमा भरोसा रहेको भन्दै कांग्रेस पहिलो पार्टी बन्दै निर्वाचन पछि एकल बहुमतको सरकार गठन हुने दावी गरे ।
कार्यक्रममा क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, दमकका कार्यबाहक सभापति प्रेम भट्टराई लगायत यस क्षेत्रका नेता कार्यकर्ताहरुले क्षेत्रका समस्याहरु र नागरिकका गुनासाहरु नेतृत्व समक्ष सुनाएका थिए ।

स्थानीय प्रतिवद्धताहरु सार्वजनिक
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ क्षेत्रीय समितिले क्षेत्रको विकासका लागि स्थानीय प्रतिबद्धताहरु सार्वजनिक गरेको छ । यस क्षेत्रबाट कांग्रेस उम्मेद्वार मन्धरा चिमरिया पौडेललाई निर्वाचित गराउन सार्वजनिक गरिएको प्रतिबद्धतामा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, महिला सशक्तीकरण, युवा तथा सांस्कृतिक संरक्षणलाई प्राथमिकतामा राखिएको छ ।
प्रतिबद्धताअनुसार सरकारी विद्यालयको भौतिक संरचना सुधार गरी “एक वडा, एक नमूना विद्यालय” कार्यक्रम लागू गर्ने, माध्यमिक तहसम्म निःशुल्क शिक्षा कार्यान्वयनका लागि पहल गर्ने र प्राविधिक तथा सूचना प्रविधि शिक्षामा जोड दिने उल्लेख छ । दमक बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पसका रूपमा विकास गर्न पहल गरिने पनि जनाइएको छ ।

भौतिक पूर्वाधारतर्फ दमकको चक्रपथ (रिङ रोड) निर्माणलाई प्राथमिकता दिँदै बजार क्षेत्रमा हुने डुबान समस्या समाधानका लागि आधुनिक ढल निकास प्रणाली र व्यवस्थित सडक निर्माण गरिने छ भने रतुवा र मावा खोलामा तटबन्धन तथा पक्की पुल निर्माण अघि बढाइने प्रतिबद्धता जनाइएको पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले जानकारी दिए ।
कृषि तथा आर्थिक विकासअन्तर्गत किसानले उत्पादन गरेका तरकारी तथा फलफूल सुरक्षित राख्न ठूलो क्षमताको कोल्ड स्टोरेज निर्माण, “फार्म टु मार्केट” अवधारणाअनुसार कृषि बजार व्यवस्थापन तथा कृषि विद्युतीकरणमा जोड दिने योजना सार्वजनिक गरिएको छ । सुकुम्बासी तथा भूमिहीनको व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्ने पनि बताइएको छ ।

स्वास्थ्यतर्फ दमक अस्पताललाई स्तरोन्नति गरी विशेषज्ञ सेवा विस्तार, ट्रमा सेन्टर र प्रसूति सेवा सुदृढ गर्ने लक्ष्य राखिएको छ । महिला सशक्तीकरणका लागि सीपमूलक तालिम, सहुलियत ऋण, सुरक्षित आवास (सेफ हाउस) र महिला हाटबजार स्थापनाको पहल गरिने जनाइएको छ ।
युवालाई खेलकुद तथा उद्यमशीलतासँग जोड्दै स्वरोजगार सिर्जना गर्ने, साथै धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने प्रतिबद्धता पनि पत्रमा समेटिएको छ । पार्टीले यी कार्यक्रम कार्यान्वयनमार्फत क्षेत्र नं. ५ लाई समृद्ध र व्यवस्थित बनाउने लक्ष्य लिएको क्षेत्रीय सभापति भण्डारीले बताए ।

Leave a Reply

Your email address will not be published.