दमक,२ फागुन । दमक -९ स्थित झापा मोडल अंग्रेजी मावि (जेम्स)ले दोस्रो संस्करणको संयुक्त राष्ट्र संघको नमुना अभ्यास सञ्चालन गरेको छ । दमक नगरपालिका सँगको सहकार्यमा बिद्यालयले फागुन १ देखि ३ गतेसम्म आयोजना गरेको सो कार्यक्रममा पूर्व क्षेत्रका ७ वटा विभिन्न विद्यालयबाट ११५ जना विद्यार्थी प्रतिनिधिहरू सहभागी छन् ।
त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रमुख प्राध्यापक डा. गोविन्द गुरागाइँको प्रमुख आतिथ्यमा भएको उदघाटन कार्यक्रममा वर्तमान विश्व परिवेशमा युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए ।
विद्यालयका संस्थापक अध्यक्ष जयबहादुर श्रेष्ठले कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै युवापुस्तामा विश्वस्तरको सोच, विश्लेषण क्षमता तथा नेतृत्व कौशल विकास गर्न यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको उल्लेख गरे ।
विद्यालयका प्रिन्सिपल सागर श्रेष्ठले सहभागिहरुलाई स्वागत गर्दै यस अभ्यासले शैक्षिक उत्कृष्टताका लागि यसले नयाँ मापदण्ड स्थापना गर्ने विश्वास व्यक्त गरे । भविष्यमा यस कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी बनाउने उनले प्रतिबद्धता जनाए ।
दमक नगरपालिका शिक्षा समिति संयोजक एवं वडा नम्बर ९ का वडाध्यक्ष कुवेर भट्टराईको विशेष अतिथि रूपमा सहभागी भएर विद्यार्थीहरूलाई सक्रिय रूपमा भाग लिन र बहस तथा वार्ता मार्फत आत्मविश्वास विकास गर्न आग्रह गरे ।
कार्यक्रम अन्तर्गत सहभागि विद्यार्थीहरुले विभिन्न अन्तर्राष्ट्रिय समिति गठन गरी विश्व शान्ति, जलवायु परिवर्तन, मानव अधिकार, विश्व अर्थतन्त्र लगायतका समसामयिक विषयहरूमा गहन छलफल गरिरहेका छन् । प्रतिनिधिहरूले विभिन्न देशको प्रतिनिधित्व गर्दै औपचारिक बहस, प्रस्ताव प्रस्तुति तथा कूटनीतिक वार्तामार्फत समाधान खोज्ने अभ्यास गरिरहेका छन्।
तीन दिने यस शैक्षिक सम्मेलनले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय कूटनीति, नेतृत्व विकास तथा समसामयिक विश्व मुद्दाहरूमा गहन छलफल गर्ने सशक्त अवसर प्रदान गर्ने विश्वास लिइएको छ । साथैं विश्व राजनीतिका जटिल विषयहरू बुझ्ने, तर्कसंगत ढंगले प्रस्तुत गर्ने तथा सहकार्यमार्फत समाधान खोज्ने अभ्यासमा अघि बढाउने जनाइएको छ ।