दमक,२ फागुन । दमककी शैक्षिक अगुवा दुर्गा काफले खनालले साढे पाँच लाख रुपैयाँको निजी खर्चमा दमक -५ स्थित दिपीनी आधारभूत विद्यालयमा सरस्वतीको मन्दिर बनाई दिएकी छन् ।त्यहाँ नवनिर्मित मन्दिरको विधिपूर्वक प्राण प्रतिष्ठा गरी बुधबार सरस्वती पूजाको अवसर पारेर बिद्यालयलाई हस्तान्तरण गरिएको छ ।
राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालको प्रमुख आतिथ्य र दिपिनी आधारभुत बिद्यालयका संस्थापक समेत रहेका पूर्व अध्यक्ष शेरबहादुर भट्टराईको सभापतित्वमा आयोजित औपचारिक कार्यक्रमका बीच सो मन्दिर बिद्यालयलाई हस्तान्तरण गरिएको हो ।
पूर्व शिक्षक समेत रहेकी दाता काफलेले आफना स्वर्गीय पति मुकुन्द काफले सहित स्वर्गीय बुबा आमा टंक प्रसाद र सासु ससुरा पण्डित धरणीधर काफले र कृष्णकुमारीको स्मृतिमा कूल ५ लाख ५५ हजार रुपैयाँको लागतमा निर्माण गरि बिद्यालयलाई हस्तान्तरण गरेको बिद्यालयका प्रधानाध्यापक शेषकुमार निरौलाले जानकारी दिए ।
मन्दिर हस्तान्तरण कार्यक्रममा कोशी प्रदेश सभा सदस्य समेत रहेका नेकपा एमालेका नेता होमबहादुर थापा, दमक नगरपालिकाकी कार्यवहाक नगर प्रमुख रेगिना भट्टराई (प्रसाइँ), पूर्व दमक नगर प्रमुख रोमनाथ ओली लगायतले मन्तव्य राख्दै दाता परिवारको प्रशंसा गरे । कार्यक्रममा नगरपालिकाका शिक्षा समिति संयोजक समेत रहेका दमक ९ का वडाध्यक्ष कुबेर भट्टराई, पूर्व नगर उपप्रमुख गीता अधिकारी लगायत सामाजिक तथा शैक्षिक सरोकारवालाहरुको आतिथ्य रहेको थियो ।
अक्षरारम्भको अवसरमा मेची स्कूलमा निशुल्क भर्ना
दमक- ५ स्थित मेची आवासीय माविमा श्रीपञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर बर्षेनी गरिँदै आएको सरस्वती पूजा विशेष कार्यक्रम सञ्चालन गरिएको छ ।बिद्यालय परिसरमा मेची बाल क्लबको व्यवस्थापन र बिद्यालयको संरक्षकत्वमा पूजाआजासहित बिद्यार्थी, अभिभावक र शिक्षक कर्मचारीहरुलाई प्रसाद वितरण गरिएको हो । बिद्यालयले अक्षरारम्भको दिनका रुपमा लिँदै कक्षा नर्सरीमा आज भर्ना हुन आएका बिद्यार्थीहरुलाई निशुल्क भर्नाको कार्यक्रम समेत सञ्चालन गरिएको बिद्यालयका प्रिन्सिपल श्रवणकुमार पोखरेलले जानकारी दिए ।
शैक्षिक सहयोग जुटाउँदै मानवधर्म सेवा समिति
राष्ट्रिय पुस्तक दिवस तथा सरस्वती पुजाको अवसर पारेर दमकमा नेपाल मानव धर्म सेवा समितिले विपन्न बिद्यार्थीहरुको शैक्षिक निरन्तरताका लागि स्वेच्छिक रुपमा स्टेशनरी सहयोग जुटाउने अभियान शुरु गरेको छ ।
आगामी शैक्षिक सत्रका लागि दाताहरुबाट कापी, कलम, किताब आदि स्टेशनरी सामग्री संकलन शुरु गरिएको अभियानका अगुवा दिपक खडकाले जानकारी दिए ।
खडकाका अनुसार दुई महिना सम्म दाताहरुबाट कापी, किताब, कलम, पेन्सील लगायतका शैक्षिक सामग्री संकलन गर्ने काम हुन्छ त्यसपछि आगामी बैशाखबाट शुरु हुने नयाँ शैक्षिक सत्रमा विभिन्न बिद्यालयमा औपचारिक अध्ययन शुरु गरेका विपन्न बालबालिकालाई प्रदान गरिनेछ । सहयोग संकलनका लागि डोनेशन बक्स सधैं खुल्ला राखिने खडकाले बताए ।