मेचीनगरमा फेरि आगलागी, दुई घर नष्ट

काकड्भिट्टा,१ फागुन । झापाको मेचीनगर नगरपालिका –६ काकड्भिट्टास्थित भानु टोलका दुई वटा घरमा आगलागी हुदाँ जलेर नष्ट भएको छ ।
आगलागीबाट स्थानीय पासाङ तामाङ र नारायण तिम्सिनाको घर पूर्ण रुपमा जलेर नष्ट भएका प्रहरीले जनाएको छ । बिहान ९ बजेबाट सुरु भएको आगो निभाउनका लागि विर्तामोडबाट दमकल पुगेको भएपनि केही क्षणमा नै घर जलिसकेका थिए । मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले आगो निभाउन बिर्तामोड नगरपालिकाको दमकललाई खबर गरिएको थियो ।
बिर्तामोडको दमकल त्यहाँ पुग्दा स्थानीयले बालुवा र पानी खन्याएर आगो निभाइसकेका थिए । मेचीनगर नगरपालिकाको दमकल नहुँदा घर जलेर नष्ट भएको भन्दै स्थानीयहरुको एक समूहले नगरपालिकाका मेयर र उपमेयर विरुद्ध सडकमा आगो बालेर नाराबाजी गर्दै आक्रोश पोखेका छन् । विद्युत सट भएर आगो लागेको प्रहरीले जनाएको छ । हिजो मात्रै मेचीनगरमा नै रहेको मगमग चाउचाउको उद्योगमा र दश दिन अघि सोहि नगरपालिकाको एक चप्पल उद्योगमा आगलागी हुदाँ ठुलो नोक्सानी भएको थियो ।
आगलागीमा एक घर र पाँच वटा पसल जले
पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा शनिवार साँझ भएको आगलागीमा एउटा घर र पाँच वटा पसल जलेर नष्ट भएका छन् ।
आगलागीमा यासोक बजारका झरेन्द्र खतिवडाको घर जलेर खरानी भएको छ । आगलागीमा अन्यका चार वटा पसलहरु जलेका छन् । कच्ची घरबाट सुरु भएको आगलागी उक्त घरसँगै अन्य पक्कि घरहरु रहेका कारण अन्यत्र फैलन नपाएको स्थानीयवासीले जनाएका छन् ।
फिदिम नगरपालिकाको बारुण यन्त्रको सहायतामा स्थानीयवासीले बेलुकी ९ बजे आगो नियन्त्रणमा लिएका थिए । आगलागीको कारण खुल्न सकेको छैन् । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.