
झापा, २९ माघ । झापाको मेचीनगर १४ दुवागढीस्थित मनषा थाइफुड्स उद्योगमा आज शनिवार विहान लागेको आगो करिव १२ घण्टा पछिमात्र नियन्त्रणमा आएको छ । विद्युत सर्ट भई विहान साढे चार बजेदेखि सुरु भएको आगलागी दिउँसो ३ बजे तिर करिव १२ घण्टा पछिमात्र विभिन्न १८ वटा दमकलको सहयोगमा नियन्त्रणमा आएको उद्योगका सञ्चालक अजय अग्रवालले जानकारी दिए ।
मनषा थाइफुड्स उद्योगले चिज बल्ससहित मगमग ,अकबरे लगायतका चाउचाउ उत्पादन गर्दै आएको थियो । आगलागीबाट उद्योग परिसरमा रहेको कच्चापदार्थ तथा मेसिन जलेर नष्ट भएको अग्रवालले बताए ।
उद्योगको उत्पादन अन्तर्राष्ट्रिय बजारमा पु¥याउने लक्ष्यका साथ २०७५ साल भदौमा झापाकै व्यवसायी वुद्धि घिमिरे, अजय अग्रवाल, ओमप्रकाश अग्रवाल, गणेश प्याकुरेल, पर्शुराम अग्रवालले करिव १ अर्ब लगानीमा उद्योग सञ्चालनमा ल्याएका थिए ।
भौतिक संरचना, कच्चापदार्थ, मेसिन सबै जलेकाले अहिले नै क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए । आगो निभाउन झापा, इलाम मोरङ, सुनसरीका १७ वटा दमकल प्रयोग गरिएको थियो । ती दमकलले निरन्तर प्रयास गर्दा बल्लतल्ल आगो नियन्त्रणमा आएको बताइएको छ ।
‘उद्योग परिसरमा भएको मुख्य तीन वटा भवनमध्ये एउटा कार्यालय भवन मात्र बचेको छ । बाँकी दुई वटा भवन जलेर नष्ट भएको तथा उद्योगका सबै प्लान्टहरू ध्वस्त भएका छन् ’ डिएसपी थापाले भने । केही खाने तेलका ट्याङ्की भने आगलागीबाट बचाउन सकिएको पाठक बताउँछन् ।
काँकरभिट्टाको एसएस फुटवेयरमा आगलागी भएको ९ दिनपछि मेचीनगरमा नै थप अर्को भीषण आगलागी भएको हो ।