मनषा थाइफुड्स उद्योगमा आगलागी

झापा,२९ माघ । झापाको मेचीनगर नगरपालिका १४ दुहागढीस्थित मनषा थाइफुड्स उद्योगमा आज बिहान आगलागी भएको छ । आगो अहिलेसम्म पनि निभाउन सकिएको छैन् ।

नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष लोकराज ढकालका अनुसार उद्योगमा बिहान चार बजे आगलागी भएको हो । आगो निभाउन झापा, मोरङ, इलाम र सुनसरीका १२ दमकल प्रयोग गरिएको छ । आगो अझै नियन्त्रणमा आइनसकेको ढकालले बताए।

ठूलो संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी आगो निभाउन प्रयासरत छन् । विसं २०७५ मा रु एक अर्बको लगानीमा स्थापना भएको उक्त उद्योगले मगमग, अकबरेलगायत चाउचाउ उत्पादन गर्दै आएको थियो ।

उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले आगलागीबाट उद्योगमा रहेका सबै सामान जलेर नष्ट भएको जानकारी दिए। बिहानीपखमा आगो लागेकाले मानवीय क्षति भने नभएको उनले बताए ।काँकरभिट्टाको एसएस फुटवेयरमा आगलागी भएको ९ दिनपछि मेचीनगरमा अर्को भीषण आगलागी भएको हो ।

Leave a Reply

Your email address will not be published.