सुनवर्षी २ अमरदहमा अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगिता हुने

पत्रकार सम्मेलनमा प्रतियोगिताका बारे जानकारी गराउदै आयोजक


छविराज ढकाल
अमरदह , २९ माघ । मोरङ्गको सुनवर्षी नगरपालिका २ स्थित अमरदहमा आगामी फागुन १३ गतेदेखि ढल्केजोवान अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।
ढल्के जोवन गोल्डकपको तयारीका बारेमा आज दिउँसो विरेन्द्र सार्वजनिक माविको खेलमैदानमा एक पत्रकार सम्मेलनको आयोजना गरी सोको जानकारी दिइएको हो । ३० वर्षमाथिका खेलाडीहरूको सहभागिता रहने उक्त प्रतियोगिता फागुन २४ गतेसम्म सञ्चालन हुने छ ।
प्रतियोगितामा नेपाल , भारत तथा भुटानका सहित १२ टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भइसकेको ढल्के जोवन गोल्डकप आयोजना क्लवका अध्यक्ष प्रताप तामाङले बताए ।
प्रतियोगितामा भुटानको फेन्र्डस भेट्रान फुटबल क्लव तथा भारतको दार्जिलिङ भेट्रान फुटबल क्लब र सिक्किम भेट्रान फुटबल क्लबले भाग लिने छन् भने नेपालका नेपाल आर्मी क्लब, शसस्त्र प्रहरी बल , पोखरा ११ , बुटवल भेट्रान क्लब , हेटौडा भेट्रान क्लब, सुनसरी भेट्रान क्लब , काठमाडौंको लक्षुमण भेट्रान क्लब , झापा भेट्रान फुटबल क्लब तथा आयोजक मोरङ्ग भेट्रान फुटबल क्लबहरूले सहभागिता जनाउने अध्यक्ष तामाङ्गले बताए।
प्रतियोगितामा विजयी हुने प्रथम टिमलाई ५ लाख ११ हजार रुपैयाँ तथा द्वितीय हुने टिमलाई २ लाख ५१ हजार रुपैयाँ बराबरको पुरस्कार प्रदान गरिने छ भने प्रतियोगितामा उत्कृष्ट खेलाडी , उत्कृष्ट रेफ्री , उत्कृष्ट गोलरक्षक लगायतलाई समेत नगद , ट्रफी ,मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
गोल्डकप सम्पन्न गर्न सोहि क्षेत्रमा बसोबास गर्ने प्रदेश नं१ का सांसद लीला वल्लभ अधिकारीले १ लाख ४० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेका छन् भने उक्त आयोजनामा सुन्दरहरैंचा, लेटाङ्ग ,सुनवर्षी पथरीशनिश्चरे लगायतका उद्यमी, उद्योगी व्यापारी र व्यापारीहरुले आर्थिक सहयोग प्रदान गरेका छन् ।
सुनवर्षी नगर क्षेत्रको व्यवसायिक प्रवद्धन तथा खेलकुद विकासमा यथेष्ट टेवा पुर्याउने उद्देश्यले आयोजना गरिने उक्त प्रतियोगिता सम्पन्न गर्नका लागि अहिलेसम्ममा ४० लाख बढी आर्थिक संकलन भैसकेको र सोही अनुसार खर्च हुने प्रक्षेपण गरिएको थियो ।
३० वर्ष माथि उमेरका खेलाडीहरूले भाग लिने प्रतियोगिताका लागि धमाधम निर्माण भैरहेको छ। प्रतियोगिताका सहभागी टिमका खेलाडीहरुलाई आउने,जाने यातायातको सुविधा उपलब्ध गराउने भन्दै आयोजकले उनीहरुलाई खान र बस्नको लागि पथरीशनिश्चरे, उर्लाबारी तथा सुनबर्सी नगरपालिकाहरूका विभिन्न होटल तथा लजहरु बुकिङ गरिएको आयोजक क्लबका अध्यक्ष तामाङले बताए।
मोरङ फुटवल संघ अध्यक्ष दिपेन्द्र धिमालको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा संघका उपाध्यक्ष हेमेश्वर राई, सचिव विनोद राजवंशी, विरेन्द्र सार्वजनिक माविका अध्यक्ष सोभित रायमाझी, पूर्व राष्ट्रिय खेलाडी संजिव बुढाथोकी, एन्फा रेफ्री विक्रम कार्की र सजित धिमाल, खेलप्रेमी गणेश थक्लुङ लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.