
पथरीशनिश्चरे, २८ माघ । मोरङ्गको पथरीशनिश्चरे नगरमा दोस्रो पथरीशनिश्चरे प्रिमियर लिग २०७८ हुने भएको छ । आयोजकले पथरीशनिश्चरेको सुम्निमा सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरी फागुन १९ गतेदेखि चैत्र ५ गतेसम्म लिग सञ्चालन हुने जनाएको हो । पथरीशनिश्चरे फुटबल प्रिमियर लिग समितिको आयोजनामा हुने उक्त स्पर्धामा ८ वटा टिमले सहभागिता जनाउने भएका छन् ।
‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादनमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ हुन गैरहेको उक्त प्रतियोगितामा वाईजीएफटी एफसी, देविगन्ज एफसी, शिखर एफसी, सिरिजंघा एफसी, १० नवोदय, न्यू स्टार एफसी, द रियल ब्रदर्शले प्रतिस्पर्धा गर्ने भएका छन् भने नयाँ क्लबको रुपमा वाईएफसीले इन्ट्री गरेको छ ।
पत्रकार सम्मेलनमा ८ वटै क्लबका अनरहरु उमेश राई, सागर भट्टराई, नवीन ढकाल, विरेन साम्बा, मिलन श्रेष्ठ, सरोज लिम्बु, आइतराज राई, विरोज मगरको उपस्थितिमा ग्रुप ‘ए’ र ‘बी’ विभाजन गरिएको थियो । ग्रुप ‘ए’मा वाईजीएफटी, शिखर, १० नवोदय र वाईएफसी रहेका छन् भने ग्रुप ‘बी’मा देविगन्ज, सिरिजंघा, न्यू स्टार र द रियल ब्रदर्श छन् ।
प्रतियोगिताको विजेता टिमले २ लाख ५१ हजार, उपविजेताले १ लाख ५१ हजार र ट्रफी प्राप्त गर्नेछन् । यस्तै अन्य विधागततर्फ बेष्ट गोलकिपर, बेष्ट डिफेन्स, बेष्ट मिड फिल्डर, बेष्ट फरवार्ड, हाई स्कोर, बेष्ट कोच, राइजिङ प्लेयरले ७ हजार ५ सय र ट्रफी प्राप्त गर्नेछन् । यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १२ हजार ५ सय र ट्रफी प्राप्त गर्नेछ । खेल सुरु भएपछि आयोजकले ८ वटै क्लवलाई तयारीका लागि नगद रु३५ हजारका दरले रकम प्रदान गरिने आयोजकका उपाध्यक्ष बिक्की राईले बताए।
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८ शीर्षक राखिएको यस प्रतियोगिताको सबै खेलहरु पथरीशनिश्चरे–१ को जाँतेमोडमा अवस्थित खेल मैदानमा हुने आयोजकका संयोजक संजिव गिरीले जानकारी दिए।