सेतुमारीमा शवदाहस्थल निर्माण हुने

दमक ,२९ माघ । झापाको दमक नगरपालिका वडा न. १० स्थित सेतुमारीमा ब्यवस्थित शव दाहस्थल निर्माण हुने भएको छ । कोशी प्रदेश सरकारको रु १० लाख र वडा कार्यालयको रु ५ लाख गरि कुल रु १५ लाख रुपैयाको बजेटबाट त्यहाँ सेतुमारी मुक्ति घाट निर्माण हुने भएको हो । सेतुमारी मावा खोला पुलको दक्षिणमा सो घाट निर्माण गरिने भएको छ ।
सेतुमारीमा मुक्तिघाट निर्माणका लागि आज वडाअध्यक्ष राजेन्द्रप्रसाद भण्डारीको उपस्थितिमा भएको भेलाले स्थानीय भानुभक्त न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय घाट निर्माण रेखदेख समिति गठन गरिएको छ । सो समितिको सचिवमा नवराज श्रेष्ठ र कोषाध्यक्षमा कुमारी धिमाल रहेका छन् भने सदस्यहरुमा डम्बर बिष्ट, गोबिन्द प्रसाद न्यौपाने, बिष्णु धिमाल, शुभद्रा जोशी , अनिता श्रेष्ठ र सुरेश धिमाल रहेका छन् ।
वडाअध्यक्ष भण्डारीका अनुसार सेतुमारी मुक्तिघाट निर्माणका लागि यसअघिनै स्थानीय नगेन्द्र फागोले तीन कट्ठा र सन्तोष देवानको परिवार मार्फत २ कट्ठा जग्गा उपलव्ध भएका छन् । छलफलमा नेपाली कांग्रेस दमक -१० का वडा सभापति घनश्याम खनाल,सञ्चारकर्मी नगेन्द्रमणी न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।
सेतुमारीमा शवदाहस्थल निर्माण भएपछि यस क्षेत्रका बासिन्दालाई शवदाह गर्ने समस्या हट्ने अपेक्षा गरिएको वडाअध्यक्ष भण्डारीले बताए । यसअघि दमक- १ स्थित बेलडाँगी बन क्षेत्रको रतुवा नदी किनारमा समेत शवदाहका लागि घाट निर्माण भएको छ ।

Leave a Reply

Your email address will not be published.