सुन्दरहरैँचाबाट पेस्तोल र सञ्चार सेटसहित दुई जना पक्राउ

मोरङ,२७ माघ । मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट प्रहरीले अवैध हतियार र सञ्चार सेट (वाकीटकी) सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैँचा नगरपालिका -२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बू र वडा नं. ३ बस्ने २९ वर्षीय प्रेम बहादुर गुरुङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्रप्रनाउ) हरिनन्दन चौधरीका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाबाट खटिएको संयुक्त टोलीले माघ २६ गते साँझ करिब ६ः०० बजे सिलास लिम्बूको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा लिम्बूको सुत्ने कोठाबाट मेडिएन युएसए लेखिएको एक थान पेस्तोल, दुई थान बाओफेङ लेखिएको ह्यान्डसेट र भरुवा बन्दुक जस्तो देखिने एक थान काठको हतियार बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त हतियार र सञ्चार सेटमा प्रेम बहादुर गुरुङको समेत संलग्नता देखिएपछि प्रहरीले उनलाई पनि घरैबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर हातहतियार खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published.