पथरीशनिश्चरे, २८ माघ । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा सार्वजनिक सुुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।आइतबार वडा नं ५ र ६ स्थित हसन्दह बजारमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा स्थानीय जनताहरूले उठाएका सवालहरू माथि विभिन्न सरोकारवाला व्यक्ति जनप्रतिनिधि र कर्मचारीहरुले जवाफ दिएका थिए ।स्थानीयहरुले पथरीशनिश्चरे नगरको विकास निर्माण, स्वास्थ्य, शिक्षा र कृषिसँग सम्वन्धित सवालहरु उठेका थिए ।
नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरवासीको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । सो कार्यक्रममा उठेका विषयमा नगर प्रमुख तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशि राई र स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य जवाफ दिएका थिए । प्रमुख प्रशासकीय अधिकृत राईले सुझावका रुपमा आएका शव वाहनमा स्टेचर, माला झुन्ड्याउने रड र हसन्दह बजारमा लाइट , डस्बिन, विपन्नको फुसको छानो हटाउने अभियान तुरुन्त गरिने प्रतिवद्धता जाहेर गरे।
नगर प्रमुख तुम्वापोले नगरपालिकामा सम्पन्न भएका र हुन बाँकी विकास योजनाहरुलाई ताकेता गरिरहेको बताउदै अधुरा कामहरु छिट्टै पूरा गर्ने उल्लेख गरे । समग्र नगरका विषयमा आफू गंभिर भएर लागिपरेको उनको भनाई थियो ।
सार्वजानिक सुनुवाई कार्यक्रम नगर उप–प्रमुख देविमाया काफ्ले, वडाध्यक्षहरु क्रमशः भीम राई, नैना राई, लोककिरण न्यौपाने, चेतेन्द्र खड्का, वडा नं ३ का कार्यवाहक अध्यक्ष चन्द्रप्रकाश चेम्जोङ, वडा नं. ६ का कार्यवहाक अध्यक्ष विष्णुकुमार लिम्बू, नगरपालिकाका शाखा प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरु, शिक्षक , बुद्धिजिवीहरु लगायतको उपस्थिति थियो ।
नगरको सार्वजानिक सुनुवाई कार्यक्रम यसभन्दा अघि पथरीशनिश्चरे वडा नं। ९ को शनिश्चरे बजार, वडा नं ४ र ७ को किर्तिपुर बजारमा गरिएको थियो ।