दमक,२८ माघ । नेकपा माओवादी केन्द्रले नेताहरुको नयाँ कार्यविभाजन गरेको छ । केन्द्रीय कमिटीको पछिल्लो बैठकको निर्णयअनुसार नयाँ कार्यविभाजन सहितको अन्तरपार्टी निर्देशन जारी भएको माओवादी केन्द्र कोशी प्रदेश कमिटीले जनाएको छ ।
जसअनुसार प्रदेश इञ्चार्जमा उपमहासचिव हरिबोल गजुरेल र सहइञ्चार्जहरुमा सावित्रीकुमार काफ्ले, अजम्बर काङबाङ, धर्मशीला चापागाई र सुरेशकुमार राईलाई तोकिएको छ ।
कोशी प्रदेश अन्तर्गत झापाको पार्टी जिल्ला इन्चार्जमा युवा नेता रञ्जित तामाङलाई जिम्मेवारी दिएको छ । उनी पार्टी केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष समेत हुन् ।
यसैगरि , ताप्लेजुङमा खेलप्रसाद बुढाक्षेत्री, पाँचथरमा सितादेवी थेवे, इलाममा धिरेन्द्र शर्मा, मोरङमा कुलप्रसाद साम्बा लिम्वू, सुनसरीमा अनिता परियार, धनकुटामा धनकुमारी बिक र तेह्रथुममा होमकुमारी खापुङलाई इञ्चार्जको जिम्मेवारी दिइएको छ । यस्तै संखुवासभामा रिपुकुमार राई, भोजपुरमा नगेन्द्र राई, सोलुखुम्बुमा हेमकुमार राई, ओखलढुंगामा चम्पा कार्की, खोटाङमा समिता कार्की र उदयपुरमा मणि खम्बु किराँतीलाई इञ्चार्ज तोकिएको छ ।
पार्टी बैठकको निर्णय अनुसार सामान्य प्रशासन विभागको प्रमुखमा अमनलाल मोदीलाई जिम्मेवारी दिइएको छ । मोरङका मोदी पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुन् ।
पार्टीका केन्द्रीय विभाग, केन्द्रीय जनवर्गीय संगठन तथा मोर्चाहरुको कार्य विभाजनमा समूहगत र क्षेत्रगत आधार तयार गरिएको र महासचिवसम्मका पदाधिकारीहरुलाई राजनैतिक, वैचारिक कामका साथै नीति निर्माणसम्बन्धी विभाग र मोर्चाहरुका जिम्मेवारीमा केन्द्रित गरिएको उल्लेख छ । यस्तै उपमहासचिव, सचिव, स्थायी समिति सदस्यहरु र केन्द्रीय सदस्यहरुलाई प्रदेशहरुको जिम्मेवारीमा केन्द्रित गरिएको छ ।
प्रदेशमा इञ्चार्जको नेतृत्वमा सहइञ्चार्जहरु, प्रदेश सभाको दल नेता, प्रदेश अध्यक्ष र प्रदेशमा कार्यरत स्थायी समिति सदस्यहरु रहेको समन्वय कार्यालय गठन गरिएको छ । महानगरपालिका इञ्चार्ज र हाल जिल्लामा सहइञ्चार्ज रहेकाहरुको जिम्मेवारी यथावत राखेर संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र र पालिका इञ्चार्जहरुको कार्य विभाजन सम्बन्धित समन्वय कार्यालयले गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, झापा दमकका विरेन्द्र बस्नेतसहित ७ जनालाई बैकल्पिक केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।