विश्वासको मत दिएको दल प्रतिपक्षी हुन सक्दैन : संविधानविद् भट्टराई

दमक,२६ माघ । संविधानविद् टीकाराम भट्टराईले नेपालको संविधानले प्रतिपक्ष विहिन संसदको परिकल्पना नगरेको टिप्पणी गरेका छन् । आज दमकमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारलाई विश्वासको मत दिएको दल प्रतिपक्षी हुन नसक्ने दावी गर्दै अन्य विकल्पबाट पनि प्रतिपक्षी दलको निक्र्यौल गर्न सकिने उल्लेख गरे ।
विश्वासको मत दिएका बाहेकका दलहरुले सहमति गरि सभामुखलाई जानकारी दिए पनि प्रतिपक्षी दल कायम हुन सक्ने र सो नभए अदालत वा सभामुखले किटान गर्न सक्ने उनको भनाई थियो । सत्तालाई समर्थन गर्नु र प्रतिपक्षी दलको पनि हैसियत खोज्नु संसदीय र संवैधानिक दृष्टिकोणबाट उपयुक्त नहुने भट्टराईले बताए ।
यस्तै मुख्य राजनीतिक दलहरुबाटनै संविधान विपरीतका अभ्यासहरु हुने गरेको भन्दै उनले यसले संविधान र संसदीय अभ्यासमानै खतरा निम्त्याउने सक्ने समेत औल्याए । सत्ता साझेदार दलहरुबाटै संसद भित्र संविधान विपरीतका अभिव्यक्तिहरु आउने गरेको विषयमा गरिएको प्रश्नमा संविधानविद् भट्टराईले कुनै दलले आफ्ना मञ्चहरुमा त्यस्ता विषयमा छलफल गर्न सक्ने भए पनि मन्त्री र सत्तापक्षकै सांसदबाट त्यस्ता धारणा आउनु पनि संविधान विपरीत भएको उल्लेख गरे । कार्यक्रम प्रेस चौतारी नेपाल माईपश्चिम क्षेत्रीय समितिको संयोजनमा भएको थियो ।

Leave a Reply

Your email address will not be published.