शान्तिसुरक्षा कायम गर्न प्रहरी प्रतिवद्ध : प्रनाउ तिम्सिना

दमक ,२७ माघ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक रामप्रसाद तिम्सिनाले शान्तिसुरक्षा ,अमनचयन कायम गर्न आफूले इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता गरेका छन् ।
पाँच दिन अघि दमक प्रहरीको कमाण्ड सम्हालेका उनले आफनो कार्यालय मातहतमा शान्तिसुरक्षा अमनचयन कायम गर्न आफूले एक्सनमा काम गर्ने उल्लेख गरे । हालैमात्र प्रहरी नायव उपरीक्षकको बढुवा भएर इलाका प्रहरी कार्यालयको कमाण्ड सम्हालेका उनले सञ्चारकर्मी, स्थानीय राजनीतिक दल,सामाजिक संघसंस्थाका प्रतिनिधिहरुसंग छुट्टाछुट्टै परिचयात्मकसहित अन्तरकृयामा प्रहरी मात्रको एक्लो प्रयासले शान्तिसुरक्षा ,अमनचयन कायम गर्न नसकिने भएकाले सवैबाट सहयोग हुनुपर्ने जोड दिए ।
आफनै कार्यकक्षमा आयोजित पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा प्रनाउ तिम्सीनाले दमकमा हुने जुनसुकै किसिमका अपराधिक गतिविधिहरु नियन्त्रण गरि जनताको जीउधनको सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी संगठन दत्तचित भएर लाग्ने उल्लेख गरे । पूर्वका विभिन्न प्रहरी कार्यालयहरुमा विभागीय जिम्मेवारी सम्हालेर लामोसमय काम गरेको बताउदै उनले भने, –‘ दमकसंगै यस क्षेत्रको शान्तिसुरक्षा मजवुत बनाउन कुनै कसुर बाकी राख्दिन, यसका लागि नागरिक समाजबाट सहयोग उतिकै अपरिहार्य छ ।’
प्रनाउ तिम्सिनाले दमक प्रहरी मातहत पर्ने विभिन्न राजनीतिक दल, संघीय तथा प्रदेशका सांसदहरु, स्थानीय तहका प्रमुख,उपप्रमुख, उद्योग वाणिज्य क्षेत्रका अगुवा तथा समाजसंग प्रत्यक्ष जोडिएका विभिन्न क्षेत्रसंग आपसी समन्वय अभिबृद्धि गर्न परिचयात्मक तथा स्थानीय शान्तिसुरक्षा मजवुत बनाउने उपायका बारेमा यस किसिमको छलफल उपयोगी हुने बताए ।
छलफलमा सहभागि पत्रकारहरु गिरीराज भट्टराई, बिमल लामिछाने, विष्णु सुब्बा, डिकेश लामा,चिरञ्जीवि घिमिरे,नगेन्द्रमणि न्यौपाने,मनकुमार गदाल लगायतले दमकमा लागूऔषध,चोरी लगायतका अपराध हुदै आएकाले त्यस्ता घटना नियन्त्रणमा प्रहरी प्रशासन एक्सनमा उत्रिनु पर्ने सुझाव राखेका थिए । परिचयात्मक कार्यक्रममा प्रहरी निरीक्षक नविन राई ,एलवी श्रेष्ठ लगायतको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.