दमक,२७ माघ । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा राट्रियसभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले अहिलेको सत्ता गठबन्धन आगामी निर्वाचन सम्मनै कायम रहने बताएका छन ।
कांग्रेस दमक नगर समितिले शनिवार पार्टी कार्यालयमा आयोजना गरेको नगर भेलामा बोल्दै उनले बिशेष परिस्थितिका कारण कांग्रेस –एमाले मिल्नु परेको औल्याए ।
अहिले सत्ता सहकार्य गरे पनि आगामी निर्वाचनमा कांग्रेस– एमाले प्रतिस्पर्धी भएरै जाने उनले स्पष्ट पारे । अहिले कुनै पनि दलको बहुमत नभएकाले एमाले संग सहकार्य गर्नु परेको बताउँदै उनले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी कांग्रेसका नेता कार्यकताहरुले मेहनत गर्नु पर्ने जोड दिए ।
भोलिका दिनमा कांग्रेसले नागरिकको बिश्वास जित्ने गरी आज काम गर्नु पर्ने भन्दै उनले आज गरिएको कामले भोलिका दिनमा जनताको मन जित्न सकिने औल्याए । अहिले गठबन्धनमा रहेपनि गठबन्धनलाई जोगाउँदै कांग्रेसको नीति सिद्धान्त अनुसार पार्टीलाई बलियो बनाउन नेता सिटौलाले कार्यकर्तालाई निर्देशन दिए ।
कांग्रेसले सञ्चालन गरेको सय दिने बिशेष अभियान अन्तर्गत आयोजित भेलामा बोल्दै सहभागि वक्ताहरुले दमकका अधिकांस संघसंस्थाहरुमा भएको निर्वाचनमा कांग्रेसले नेतृत्व पाउँदै आएको चर्चा गरे । अहिलेको नगर नेतृत्व सहित सबै अग्रज र पार्टी नेता कार्यकर्ताहरु एकताबद्ध भएमात्र सफलता पाईने उनीहरुको जोड थियो । भेलामा कांग्रेस झापा जिल्ला सभापति देउमान थेवेले अभियानले टोलदेखि केन्द्र सम्मका सबै नेता ,कार्यकर्ताहरुलाई एकै ठाउँमा जोडेको बताए ।
कांग्रेस झापा क्षेत्र नम्बर ५ (ख ) का प्रदेश सभापति रवि केसी न्यौपानेले काम गर्ने कार्यकर्ताहरु पहिचान गरेर जिम्मेवारी दिनु पर्ने बताए । पार्टी एक ढिक्का भएमात्र पार्टी बलियो हुने र सबै कार्यकर्ताहरुलाई पार्टी नेतृत्वले अवसर दिनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा कांग्रेस दमक वडा नम्बर ४ का वडा सभापति राजेन्द्र सिटौला, तरुण दल क्षेत्रीय सभापति गोकुल श्रेष्ठ, नेपाल महिला संघ क्षेत्रीय सभापति गोमा बुढाथोकी, प्रजातन्त्रका सेनानी डिल्ली शिवाकोटी, सांस्कृतिक संघ दमक नगर अध्यक्ष टंक ढकाल, अग्रज बेणु चुडाल लगायतले पनि आ-आफनो धारणा राखेका थिए भने सो अवसरमा नगरका अग्रज जेष्ठ सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।