साहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ओझा पुरस्कृत

फिदिम, २६ माघ । स्वर्गीय अमर नेम्वाङ (लिम्बू ) स्मृति पुरस्कारबाट साहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ओझा पुरस्कृत भएका छन्।नेपाली साहित्यको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै प्रतिष्ठानले उनीहरूलाई जनही ५० हजार रुपैयाँ राशिको पुरस्कारसहित सम्मान गरेको हो।

तत्कालीन फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमर नेम्वाङको २०७५ सालमा निधन भएपछि उनकै परिवारका सदस्यले प्रतिष्ठानमार्फत उक्त पुरस्कार कोष स्थापना गरेका हुन्। यसअघि उक्त पुरस्कारबाट शारदा सुब्बा, बिना थिङ, डा. देवी क्षेत्री दुलाल, मुनाराज शेर्मा, वीर नेम्वाङ र डा. गोविन्दराज भट्टराई सम्मानित भइसकेको प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्वाङले बताए।

मुकारुङ र ओझालाई नेम्वाङको चौथो स्मृति दिवसका अवसरमा आज फिदिममा आयोजित समारोहमा प्रमुख अतिथि संविधान सभा सदस्य भीष्मराज आङदेम्बेले सम्मानसहित पुरस्कार प्रदान गरेका हुन् ।

प्रतिष्ठानले सोही कार्यक्रममा जिल्लाको फिदिम नगरपालिका वडा नम्बर ७ र १३ का अग्नि पीडित तथा फिदिम र फालेलुङका पहिरो पीडित चार परिवारलाई १० हजार रुपैंयाका दरले राहत उपलब्ध गराएको छ।

यसैबीच आङसराङस्थित जयनारायण आदर्श माविमा कक्षा १० की भूमिका स्याङतेनलाई प्रतिष्ठानद्वारा स्थापना गरिएको १० हजार राशिको गरिब तथा जेहेन्दार छात्रवृत्ति प्रदान गरिएको छ। सम्मान, पुरस्कार छात्रवृत्ति र राहत वितरण कार्यक्रम कवि प्रकाश थाम्सुहाङको अध्यक्षतामा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published.