बुढासुब्बा गोल्डकपमा एनआरटीको ‘ह्याट्रिक’

धरान,२६ माघ । न्यूरोड टिम (एनआरटी) क्लबले २५औँ संस्करणको बुढासुब्बा गोल्डकप उपाधि रक्षा गरेको छ ।धरान रङ्गशालामा शनिबार भएको फाइनलमा साविक विजेता एनआरटीले चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले हराउँदै उपाधिमा ह्याट्रिक गर्न सफल भएको हो ।
लगातार तेस्रो पटक एनआरटीलाई उपाधि जिताउन दुवै गोल विदेशी खेलाडी हेनरी पोकोले गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता चर्च ब्वाइजले लिएपनि जोगाउन सकेन ।
२४औँ मिनेटमा अनन्त तामाङले गोल गर्दै चर्चलाई अग्रता दिलाए ।उनले फ्रिकिकमा गोल गरे । चर्चको अग्रतापछि जोसिएको एनआरटीले २७औँ मिनेटमा बराबरी गोल फर्काएको थियो । एनआरटीका लागि हेनरी पोकोले बराबरी गोल फर्काएका थिए ।
त्यसपछि ५८औँ मिनेटमा हेनरीले ब्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई उपाधि रक्षा गराउन सफल भए । हेनरी फाइनल खेलको प्लेयर अफ दि म्याच बन्दै १० हजार रुपियाँ पुरस्कार प्राप्त गरे ।
दोस्रो हाफमा चर्च ब्वाइजले गोलको अवसर बनाएपनि सदुपयोग गर्न नसक्दा हार खेप्यो । उपाधिसँगै एनआरटीले १० लाख रुपियाँ पुरस्कार पायो । उपविजेता चर्च ब्वाइजले पाँच लाख रुपियाँमा चित्त बुझायो ।
यसैगरी सर्वोत्कृष्ट खेलाडी एनआरटीका शिशिर लेखी घोषित हुदै एक लाख रुपियाँ पुरस्कार प्राप्त गरे । सर्वाधिक गोलकर्ता चर्च ब्वाइजका खेलाडीद्वय समीर तामाङ र अर्मान्ड भिदोंग घोषित भए । दुवैले तीन तीन गोल गरेका र दुवैले जनही ३५ हजार रुपियाँ पुरस्कार पाए ।
यस्तै उत्कृष्ट गोलरक्षक एनआरटीका प्रमिजय गच्छदार, उत्कृष्ट प्रशिक्षक एनआरटीका हरिओम श्रेष्ठ, उत्कृष्ट स्ट्राइकर चर्च ब्वाइजका समीर तामाङ, उत्कृष्ट रक्षक चर्च ब्वाइजका पदम भट्टराई, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका रोहन कार्की घोषित भए । सबैले जनही २५ हजार रुपियाँ पुरस्कार प्राप्त गरेका थिए ।
२५औँ संस्करण माघ १९ गते देखि २६ गतेसम्म सञ्चालन भएको थियो ।
प्रतियोगितामा चर्च ब्वाईज क्लब (लिग च्याम्पियन), एनआरटी क्लब काठमाडौं, नेपाल पुलिस क्लब, भुटान फुटबल क्लब एकाडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृत क्लब, युके एफसी (भारत), मच्छीन्द्र क्लब काठमाडौं, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, धरान फुटबल क्लबले सहभागिता जनाएका आयोजकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published.