दमक,२५ माघ । दमक- ५ स्थित मेची सेकेण्ड्री बोर्डिङ स्कूलको ३४ औं बार्षिक कार्यक्रम, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।बिहिबार बिद्यालय परिसरमा आयोजित कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न जाताजातीका मौलिकता झल्किने साँस्कृतिक, देशभक्ती र जनचेतनामुलक गीतहरुमा नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए ।
सो अवसरमा एक जना छात्राले र्याप गीत मार्फत अभिभावकहरुलाई सन्देश दिइन ।बिद्यालयले बर्षभरी सञ्चालन गरेका विभिन्न बिधाका अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई प्रमाण पत्र र पुरस्कार प्रदान गरेको छ । बिद्यालयका संस्थापक अध्यक्ष शेरबहादुर भट्टराइको प्रमुख आतिथ्यमा भएको सो समारोहमा सयौं बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
बिद्यालयका अध्यक्ष भट्टराई, संस्थापकहरु खेमराज प्याकुरेल, बिदुर खतिवडा, सञ्चालक सदस्य सुमित्रा प्रसाइँ लगायतले उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार तथा मेडल हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा शिक्षकहरुले पनि आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।बिद्यालयका प्रिन्सीपल श्रवणकुमार पोखरेलले मेची बोर्डिङ स्थापनामा नेतृत्व गर्नुहुने शैक्षिक व्यक्तित्वहरु, मार्गदर्शन गर्ने सञ्चालक समिति, साथ सहयोग गर्ने शिक्षक तथा कर्मचारीका साथै अभिभावकहरुलाई धन्यवाद व्यक्त गरे । उनले सो बिद्यालयमा समायनुकुल बालमैत्री शिक्षण पद्धती अपनाइएको उल्लेख गरे ।
प्रमुख अतिथी भट्टराईले दमकको शैक्षिक इतिहासमा आवश्यकताले जन्माएको मेची बोर्डिङ स्कूलको उत्पादन भुत पूर्व बिद्यार्थीहरुले विभिन्न क्षेत्रमा दिइरहेको योगदानको पनि प्रशंसा गरे ।
कार्यक्रममा अभिभावक समेत रहेका पत्रकार बिष्णु पोखरेलले मेची बोर्डिङले न्युन शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको भन्दै प्रशंसा गरे । उनले बिद्यालयहरुले बाल मैत्री व्यवहारिक र संस्कारयुक्त शिक्षामा जोड दिनुपर्ने सुझाव दिए ।
कार्यक्रमको सञ्चालन शिक्षकद्धय दिपक खडका र गंगा कार्कीले संयुक्त रुपमा गरेका थिए ।