
दमक,२४ माघ ।सरकारले आगामी २०७९बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेकोमा झापाका राजनीतिक दलहरुले स्वागतयोग्य भएको भन्दै निष्पक्ष,धाँधलीरहित गर्न सघाँउ पुरयाँउने प्रतिवद्धता जनाएका छन् ।
आज बसेको मन्त्रिपरिषदको बैठकले वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकैसाथ गर्ने निर्णयको स्वागत गर्दे जिल्लाका राजनीतिक दलहरुले निर्वाचनलाई शान्तिपूर्ण,भयरहित बनाउन आफूहरुले सहयोग पुरयाँउने जोड दिएका छन् ।
प्रदेशवाणीसंग कुराकानी गर्दे कांग्रेस झापाका सभापति देउमान थेवेले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा स्वागतयोग्य भएको वताउदै अव त्यसका लागि दलहरुले निर्वाचनको वातावरण निर्माण गर्नुपर्ने बताए । स्थानीय तहमा जनप्रतिनिधिविहीन हुन नदिन घोषित मितिमै निर्वाचन हुने विश्वास व्यक्त गर्दे उनले निर्वाचनका लागि दलहरुले वातावरण निर्माण गर्न सघाँउ पुरयाँउनु पर्ने धारणा राखे ।
निर्वाचन निष्पक्ष बनाउन गठबन्धन सम्मलित वर्तमान सरकारको दायित्व भएको र अव निर्वाचन कतै नहोला भन्ने शंका नरहेको उनको भनाई थियो ।
नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले सरकारले स्थानीय तहको निर्वाचन घोषणा स्वागतयोग्य भएकाले अव निर्वाचनमा जुट्नु पर्ने औल्याए । एमालेले सरकारलाई निर्वाचनका लागि दबाब दिदैआएको बताउदै उनले भने ,–‘ निर्वाचन भयरहित,निष्पक्ष बनाउन सरकारले समेत वातावरण निर्माण गर्नुपर्छ, हामी सहयोग गर्न तयार छौं । ’
जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष दिपेनवाला राईले स्थानीय तहमा जनप्रतिनिधीविहीन हुन नदिन सरकारले निर्वाचनको मिति घोषणा गरेकाले अव निर्वाचन भई छाड्ने बताए । निर्वाचनको बिकल्प नभएको चर्चा गर्दे उनले अव स्थानीय तहको निर्वाचन निष्पक्ष,धाँधलीरहित बनाउन सवैले सहयोग पुरयाँउनु पर्ने औल्याए ।
नेकपा एकीकृत समाजवादीका झापा अध्यक्ष बेदराज रेग्मीले स्थानीय तहको निर्वाचन नहोला भन्ने शंका अव हटेको वताए । सरकारले निर्वाचनको मिति तय गरिसकेकाले अव त्यसका लागि दलहरुले निष्पक्ष निर्वाचन सम्पन्न गर्न सहयोग पुरयाँउनु पर्ने उनको भनाई थियो ।
यसैगरि,कमलका सामाजिक व्यक्तित्व समेत रहेका कांग्रेस प्रदेश सदस्य हुकुमसिंह राईले लोकतन्त्र र संविधान कार्यान्वयन गर्न पनि निर्वाचन आवश्यक भएकाले अव स्थानीय तहको निर्वाचन भई छाड्ने उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा आफनो धारणा राख्दै उनले स्थानीय तहमा जनप्रतिनिधिविहीन हुन नदिन वर्तमान सरकारले निर्वाचनको घोषणाले आम जनतामा उत्साह थपिएको उल्लेख गरेका छन् । स्थानीय तहको निर्वाचनको घोषणा स्वागतयोग्य भएको बताउदै उनले भने, –‘ निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्नका लागि सरकारसंगै राजनीतिक दल, निर्वाचन आयोग थप जिम्मेवार बन्नुपर्छ । ’