
ताप्लेजुङ, २४ माघ । बिजुलीको पोलमा चढेर बिजुली मर्मत गर्ने क्रममा झरेर नेपाल विद्युत प्राविधिकरण ताप्लेजुङ वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । फुङलिङ नगरपालिका ४ क्याम्पस लाइन निवासी ४८ वर्षीय सूर्यप्रकाश केदेम लिम्बूको पोलबाट खसेर सोमबार मृत्यु भएको हो ।
पोलबाट भुइँमा बजारिएर घाइते भइ ताप्लेजुङ जिल्ला अस्पताल लगेको र अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख बाल नरसिंह राणाले बताए ।
विरेन्द्र चोक नजिक पोलमा चढेर बिजुली बनाइरहेको अवस्थामा भुईमा बजारिएपछि केदेमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तुम्लिङटारदेखि वीरगञ्जतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा गोरखा नगरपालिका–४ का चालक मिलन मंग्रातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।
सोमबार बिहान ७ बजे प्र.२–०–३००१ ख ४३० नम्बरको ट्रक खाँदबारी–९ सभाखोला नजिकै दुर्घटना हुँदा चालक मग्रातीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । उनका अनुसार मकालु गाउँपालिका–५ को नुममा सिमेन्ट पुर्याएर फर्कदै गर्दा सभाखोला नजिकैको घुम्तीमा ब्रेक फेल भएर ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।