दमक,२४ माघ । झापाको कमल गाउँपालिका -५ स्थित नेपाल रेडक्रस सोसाईटीले स्थापना गरेको रेडक्रस अभियानका जन्मदाता जाँ हेनरी ड्यूनाको अर्धकदको प्रतिमा अनावरण गरिएको छ ।
रेडक्रस भवन परिषरमा निर्माण गरिएको अर्धकद प्रतिमाको शनिवार कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले अनावरण गरे । सो अवसरमा रेडक्रसले प्रतिमा निर्माणमा सहयोग पुरयाँउने दाता कमल -६ का विवेक मिश्रसहितका दाताहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । अमेरिका बस्दैआएका युवा व्यक्तित्व मिश्रले प्रतिमा निर्माणमा ५० हजार ५ रुपैया सहयोग उपलव्ध गराएका थिए ।
त्यसैगरि, स्थानीय सुम्निमा कृषि सहकारी संस्थाले रेडक्रसलाई सामाजिक उत्तरदायित्व अन्तर्गत रु १० हजारको चेक संस्थाका उपाध्यक्ष पदम उप्रेतीले हस्तान्तरण गरे ।
रेडक्रस कमलका सभापति चन्द्र साहको अध्यक्षतामा भएको प्रतिमा अनावरण कार्यक्रममा रेडक्रसका आजीवन सदस्य तथा शुभेच्छकुहरुको सहयोग जुटाएर प्रतिमा निर्माण गरिएको सचिव पारषमणि राईले बताए ।
कार्यक्रममा प्रमुख अतिथि पालिका अध्यक्ष राई, नेपाल रेडक्रस सोसाईटी झापा जिल्ला शाखाका सभापति लोकराज ढकाल , रेडक्रस बुद्धशान्ति उपशाखाका सचिव टैकप्रसाद निरौला लगायतले बोलेका थिए । वक्ताहरुले छोटो समयमा रेडक्रस कमल उपशाखाले गरेका काम प्रंशसनीय भएको चर्चा गरेका थिए ।
संस्थाकी उपसभापति नरमाया तामाङले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा रेडक्रस जिल्ला शाखाका उपमन्त्री प्रकाशचन्द्र खरेल, रेडक्रस शिवसताक्षीका सभापति गोविन्द काफ्ले, आम्दा अस्पतालका पूर्व मेसु डा. नविन ढकाल, सामाजिक अगुवाहरु दिलीप वान्तवा, ललित वान्तवा, कमल ५ की वडा सदस्य चन्द्रकला सुब्बा लगायतको उपस्थिति रहेको थियो ।


