दमक,२४ माघ । रुपन्देहीमा रहेको ‘खुशी जीवन नेपाल’ नामक संस्थाले बुधबार दमक- ७ स्थित सृजना टोलका गरिव तथा विपन्न समुदायलाई न्यानो कपडा वितरण गरेको छ ।संस्थाको दमक शाखाले एक कार्यक्रम गरि त्यहाँका सर्वसाधारणहरुलाई जाडोका लागि न्यानो कपडा वितरण गरिएको केन्द्रीय अध्यक्ष महेन्द्र विश्वकर्माले बताए । ती सामाग्रीहरु वितरण गर्दे उनले संस्थाको एकमात्र ध्येय भनेको समाज परिवर्तन भएकाले यसमा सवैको सहयोग आवश्यक भएको औल्याएका थिए ।
उनका अनुसार संस्थाले दमक नगरपालिकाको सिफारिसमा हाल दमकका विभिन्न वडामा समाज परिवर्तनका लागि सचेतनामूलक नाटक मञ्चन गर्नुका साथैं असहाय,विपन्न समुदायमा आधारित सेवामूलक कार्यहरु गरिआएको छ । संस्थाले समाजमा समस्याका रुपमा रहेको लागूऔषध, महिला हिंसा विरुद्ध सडक नाटक मञ्चन गरिआएको उनले बताए । संस्थाले रुपन्देही,वुटवलसंगै दमकमा विभिन्न सामाजिक गतिविधिहरु गरिआएको छ ।
दमककी शाखा सञ्चालिका कमला राईले दमक भित्रका वडा न. १,६ र ७ का एक दर्जन बढी टोलका स्थानीय समुदायसंग सडक नाटक लगायतका गतिविधि गरिएका बताईन् । बुधबार भएको सृजना टोल विकास संस्थामा संस्था अध्यक्ष विश्वकर्मा, दमक शाखाका प्रतिनिधि अमृत भट्टराई (रेगन) तथा सृजना टोल विकास संस्थाका अध्यक्ष सुन्दर देवान लगायतको उपस्थिति रहेको थियो ।
यसअघि दमक १ को सुर्योदय टोल र प्रगति टोल, सबल टोल विकास संस्था, दमक ७ को मनकामना टोल विकास संस्था, पञ्चमुखी टोल विकास संस्था दमक ७ को कालिका टोल र गजुरमुखी , लक्ष्मी टोल , मानव धर्म, सरक्षंण टोल र दमक ६ को पशुपति टोल , लिङ्देन मार्ग टोल र गुराँस टोल , बसपार्क टोल विकास संस्था र दमक १ को सगंम चुलाचुली टोल विकासमा कार्यक्रम सम्पन्न भईसकेका छन् ।