दमक,२३ माघ । यहाँस्थित दमक बहुमुखी क्याम्पसले आजदेखि छात्रा छात्रावास सञ्चालनमा ल्याएको छ । छात्रा विद्यार्थीहरुलाई लक्षित गरेर क्याम्पसले ६० जना अट्ने छात्राबास सञ्चालनमा ल्याएको क्याम्पस प्रमुख यज्ञराज गिरीले बताए ।
उनका अनुसार भाडामा बसेर टाढाटाढाबाट अध्ययन गर्ने छात्राहरुको सुविधाका लागि छात्रावास सुरु गरिएको हो । दमक -९ स्थित क्याम्पसको आफनै परिषरमा तीनतले सुविधासम्पन्न छात्राबास निर्माण गरिएको हो ।
क्याम्पसले शुरु गरेको छात्रावासको आवासीय सुविधाले विद्यार्थीहरुको अध्ययन वातावरण अझ सुरक्षित र सहज बन्ने स्वतन्त्र विद्यार्थी युनियनका सभापति भुवन बस्नेतले बताए । युनियनको पहलमा क्याम्पसले छात्राबास सञ्चालनमा ल्याउन सफल भएको उनको भनाई छ ।
उक्त छात्राबास क्याम्पसका मुख्य जग्गादाता स्वर्गीय सुवेदार डम्वरबहादुर अधिकारीको १०७ औं जन्मजयन्तीको अवसरमा शुभारम्भ गरिएको हो । छात्राबासको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले उद्घाटन गरे ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डीराज भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा क्याम्पस सञ्चालक समिति, क्याम्पस प्रमुख, प्राध्यापक, कर्मचारी, विद्यार्थी, स्व. अधिकारीका परिवारजन तथा समाजका लब्धप्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरुले स्व. अधिकारीले दमकको विकास र शिक्षा क्षेत्रमा पु¥याएको योगदानको स्मरण गरिएको थियो । पूर्व जनप्रतिनिधि समेत रहेका दाता अधिकारीले क्याम्पस बाहेक इलाका प्रहरी कार्यालय दमकलाई लाखौं मूल्यका जग्गा दान दिएका थिए ।