झापा, २३ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ । अर्जुनधारा नगरपालिका–८ निवासी बुढाथोकी कांग्रेस पार्टीमा जुझारु, जनपक्षीय र साझा नेताका रूपमा परिचित थिए। उनकी पत्नी गीता बुढाथोकी, दुई छोरा आनन्द र शिशिर एवं दुई छोरी ममता र कविता बुढाथोकी हुन् ।
कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँका अनुसार लामो समयदेखि ‘प्रोस्टेट क्यान्सर’को उपचार गराइरहेका उनको गत राति ११ः३० बजे उपचारकै क्रममा विराटनगरको विराट मेडिकल कलेजमा निधन भएको हो ।
तत्कालीन पञ्चायतकालमै विसं २०४३ मा जनपक्षीय उम्मेदवार बनेर उनी राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचित भएका थिए । यसपछि उनी जलस्रोत राज्यमन्त्री बनेका थिए। उहाँ विसं २०६४ मा कांग्रेसका तर्फबाट झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने विसंं २०७० मा संविधानसभा सदस्य निर्वाचित भएका थिए।
नेपाली कांग्रेसको सरकार गठन हुँदा उनी सामान्य प्रशासनमन्त्री नियुक्त भए । जनतामाझ उनी निडर र स्पष्ट वक्ता भनेर चिनिन्थे। तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाह र भुटानका तत्कालीन राजा जिग्मे सिग्मे वाङचुकसँगै दार्जिलिङको सेन्ट जोसेफ कलेजमा अध्ययन गरेका नेता बुढाथोकी पाँच दशकदेखि राजनीतिमा सक्रिय थिए। विसं २०२४ मा विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा प्रवेश गरेका उनी पञ्चायतविरुद्धको आन्दोलनका क्रममा नौ महिना जेल पनि परेका थिए ।पञ्चायतकालमा झापा जिल्ला पञ्चायतको सभापति र युवक सङ्गठनको सभापतिसमेत बनेका उनी केही समय पञ्चायतको समर्थक र बहुदलीय प्रजातन्त्रकालमा केही समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा समेत सक्रिय बनेका थिए ।
विगत दुई सातादेखि उनलाई प्रोस्टेटको समस्या जटिल भएपछि विराटनगरमा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । पार्टीभित्र आफ्ना विचार निडर भएर राख्ने र झापाको विकास निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनको निधनले कांग्रेसलाई ठूलो क्षति पुगेको पार्टीका जिल्ला सचिव हुमागाईँले बताए । उनको पार्थिव शरीर आज झापा ल्याइने र शवयात्रासहित कनकाई नदीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
शोकमा तीन दिन औपचारिक कार्यक्रमहरु स्थगित
सचिव हुमागाईका अनुसार उनको पार्थिव शरीर घरमा ल्याई ११ बजेदेखि १ बजेसम्म बिर्तामोडस्थित जिल्ला पार्टी कार्यलयमा श्रद्धाञ्जली सभा हुनेछ । अपरान्ह १ बजेपछि नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयबाट शबयात्रा शुरु गरी पवित्र कनकाई नदीमा हिन्दु बिधिपूर्वक दाहसंस्कार गरिने भएको छ ।
साथै नेपाली कांग्रेस झापाका पदाधिकारीको आकस्मिक बैठकले पार्टीका पूर्व निर्धारित समुदायमा कांग्रेस लगयतका सबै औपचारिक कार्यक्रमलाई तीन दिनलाई स्थगित गरेको छ ।
जिल्ला पार्टीकार्यालय लगायत जिल्लाका सबै तहका पार्टी कार्यालय आज एकदिन बिदा रहने र तीनदिन पार्टी कार्यालयमा पार्टीको चारतारे झण्डा आधा झुकाइने भएको छ ।भोलिबाट पार्टी कार्यालयमा स्वर्गीय नेता बुढाथोकीको शोक पुस्तिका राखिने भएको छ ।