
दमक,२२ माघ । जिल्लाको माइपश्चिम क्षेत्रकै सवेभन्दा ठुलो सामुदायिक बनका रुपमा चिनिएको दमक २ स्थित हम्से –दुम्से सामुदायिक बन उपभोक्ता समितिको अध्यक्ष चन्द्रप्रसाद गुरागाई निर्वाचित भएका छन् ।
आज सम्पन्न निर्वाचनबाट आगामी चार बर्षे कार्यकालका लागि गुरागाईको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । बनको निर्वाचनमा नेपाली कांग्रेस र एमालेले गठबन्धन बनाएको थियो भने माओवादी केन्द्र, राप्रपा, जनता समाजवादी र लिम्बूवान पार्टीले अर्को गठबन्धन गरि निर्वाचनमा होमिएको थियो ।
निर्वाचनबाट २५ सदस्यीय समितिको अधिकांस पदमा कांग्रेस र एमालेको उम्मेदवार निर्वाचित भए । ती समूहबाट पदाधिकारीसहित सदस्यमा २० जना र अन्य समूहबाट ५ जना निर्वाचित भएका थिए ।
निर्वाचनबाट अध्यक्षमा निर्वाचित एमालेका गुरागाईले प्रतिद्वन्दी माओवादी प्यानलबाट उम्मेद्वार दिएका राप्रपाका विजय बराललाई ११ मतको अन्तरमा ८१ मत ल्याएर पराजित गरेका थिए । यस्तै, उपाध्यक्षमा कांग्रेसका पदम लिम्बु (९२ ), सचिवमा कांग्रेसकी लता चापागाँईं (९४), सहसचिवमा एमालेका सोमनाथ ढुङगाना (७३ ) र कोषाध्यक्षमा पनि कांग्रेसकै पुरन अधिकारी ‘पवन’ (५९) मत ल्याएर विजयी बनेका छन् ।
यस्तै सदस्यहरुमा काँग्रेस– एमाले प्यानलबाट सुमित्रा प्रसाईं, चन्द्र कार्की डोली, सीता धिमाल,पूर्ण बहादुर विष्ट, श्यामप्रसाद आचार्य, जानुका विष्ट, डिल्लिराम दुलाल, हिमादेवी श्रेष्ठ, चन्द्रविर विक, प्रमोद दाहाल,प्रतिमा ढुङगेल विजयी बने । यस्तै माओवादी लगायत अन्य ४ दलको प्यानलबाट कार्य समिति सदस्यमा रतन धिमाल, तारा गौतम, देवीमाया आङदेम्बे, शरणकुमारी कार्की र शेरबहादुर बस्नेत विजयी बनेका छन् ।
यस्तै लेखा समितिमा नेका प्यानलबाट विरेन्द्र पोखरेल संयोजक र सदस्यमा राजकुमार अधिकारी र माओवादी प्यानलबाट गंगाप्रसाद दुलाल विजयी बनेका छन् ।
राष्ट्रिय राजनीतिमा दुई धु्रवमा विभाजित बनेको नेपाली काँग्रेस पार्टी र नेकपा एमालेको गठबन्धन चुनावमा एउटै प्यानल बनाएर उठे पछि पार्टी भित्र भने केही खैलावैल्ला भएको छ । पदाधिकारी पदमा हार व्यहोर्न बाँध्य बनेका माओवादी प्यानलले काँग्रेसले धोका दिएको गुनासो पोखेका छन् ।