
मोरङ,२२ माघ । तीन जना साझेदार साथीको हत्या गरेको आरोपमा थप दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शुक्रबार राति थप दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका सुनसरीको देवानगन्ज ६ का १८ वर्षीय हकिम मन्सुरी र मोरङको रंगेली ३ का ३० वर्षीय महमद सुभामलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवत्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
बिहीबार प्रहरीले मुख्य योजनाकारसहित तीन जना पक्राउ गरि शुक्रबार ११ बजे पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको थियो । यस घटनामा मोरङ प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले हत्या आरोपमा मुख्य योजनाकार सिरहा नगरपालिका घर भई काठमाडौं बस्ने ३१ वर्षीय अनिल कुमार मण्डलसहित मोरङको जहदा गाउँपालिका ४ सिस्वनी बस्ने २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार र धनपालथान गाउँपालिका ७ कमलपुरका ६२ वर्षीय नासिर आलम छन् । पत्रकार सम्मेलन गरेपछि घटनामा थप संलग्न दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्ति हत्या गरेपछि उखुबारीमा खाडल खन्ने रहेको घटनाको अनुसन्धान गर्दै आएका डिएसपी श्रेष्ठले जानकारी दिए ।
ललितपुरको क्यान्सर अस्पतालनजिक रहेको २५ रोपनी ७ आना जग्गा बैंक ग्यारेन्टी मिलाएवापत आउने १ करोड ५० लाख रुपैयाँ ‘कमिशन’ एक्लै हत्याउन मण्डलले फरक फरक मितिमा तीन जना साझेदार साथीको हत्या गरेको प्रहरीको अनुसन्धानदेखि खुलेको हो । मण्डलले आधा दर्जन भाडाका पेसेवर अपराधी झिकाएर एउटै शैलीमा तेह्रथमु संक्रान्ति २ घर भइ काठमाण्डौं बस्दै आएका ६३ वर्षीय मोहन लिम्बू, सुनसरीको धरान घर भइ भक्तपर बस्दै आएका ४८ वर्षीय राजेन्द्र श्रेष्ठ र सप्तरीको शम्भुनाथ नगरपालिका ४ घर भइ काठमाडौं बस्दै आएका ३२ वर्षीय शम्भु कुमार चौधरीको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । तीन जनाको हत्यामा आधा दर्जनको संलग्न रहेको मोरङ प्रहरीले जनाएको छ । यय घटनामा थप एक जना पक्राउ गर्न बाँकी छ । फरार रहेकाको पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।( हाम्रो मतबाट साभार )