झापाको घटनालाई ‘अमला काण्ड’ भन्दै सम्प्रेषण गर्ने ३८ युट्युब च्यानल कारबाहीमा

झापा,२३ माघ । प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई ‘अमला काण्ड’ भन्दै अतिरञ्जित ढंगले प्रस्तुत गर्ने ३८ वटा युट्युब च्यानलविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ ।
काउन्सिलले पछिल्लो समय विभिन्न युट्युब च्यानल र फेसबुक पेजमार्फत सत्यतथ्य पुष्टि नगरी सनसनीपूर्ण समाचार सम्प्रेषण भइरहेको र त्यसले समाजमा नकरात्मक असर पुरयाँएको भन्दै नियमानुसार कारवाहीको प्रकृया अघि बढाईएको जनाएको छ ।
पीडित युवती, आरोपित ज्येष्ठ नागरिक, शिशु र पीडित परिवारका भिडियो तथा तस्बिर सार्वजनिक गर्दै अमर्यादित प्रश्नहरू सोधिएको, संवेदनहीन बहसलाई प्राथमिकता दिँदै भ्युअर बढाउने उद्देश्यले चरित्रहत्या गर्ने सामग्री सम्प्रेषण गरिएको काउन्सिलको ठहर छ ।
पत्रकार आचारसंहिता, महिला उत्तरदायी सञ्चार निर्देशिका, ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका र वैयक्तिक गोपनीयतासम्बन्धी ऐनको उल्लंघन गर्ने यस्ता च्यानलहरूमाथि कारबाही अघि बढाइएको काउन्सिलका सहप्रवक्ता तथा सूचना अधिकारी रामशरण बोहोराले जनाएका छन्।
साथै, मिडियाको आवरणमा चलेका तर दर्ता नभएका युट्युब च्यानललाई साइबर ब्युरोमार्फत कानुनी प्रक्रिया अघि बढाइएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

काउन्सिलले पत्रकारिताका मूल्य मान्यता विपरीत समाजमा घृणा, उत्तेजना र अफवाह फैलाउने सामग्री तत्काल हटाउन आग्रह गरेको छ । साथै, गैरपेशागत तथा गैरकानुनी गतिविधि नगर्न चेतावनी दिँदै जिम्मेवार पत्रकारितामा ध्यान दिन सबै सञ्चार माध्यमलाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published.