दमक,२१ माघ । अष्ट्रेलिया र अमेरिकामा रहेका नेपालीहरुको अलग अलग समूहले झापा ,दमक १० शान्ति टोलको बिरामी श्रेष्ठ परिवारको उपचारका लागि नगद साढे पाँच लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेका छन् ।एउटै परिवारका तीन जनामा जटिल रोग देखिएपछि उपचारका लागि सहयोगको याचना गरेको पीडित परिवारका लागि दाताहरुले यति ठुलो सहयोग प्रदान गरेका हुन् ।
दमक १० शान्ती टोल निवासी बोनम्यारो पीडित ४८ बर्षिय धनबहादुर श्रेष्ठसहित उनको परिवारका तीन जनामा जटिल रोग देखिएपछि सो परिवारले सहयोगका लागि सार्वजनिक अपिल गरेको थियो ।
पीडित श्रेष्ठको निवासमानै पुगेर वडाध्यक्ष भण्डारी र कार्कीका बुबा उपेन्द्र कार्कीले आज संयुक्त रुपमा परिवारलाई हस्तान्तरण गरेका हुन् ।
श्रेष्ठ परिवार र दमक वडा नम्बर १० का वडाध्यक्ष राजेन्द्र भण्डारीसहित वडा समिति परिवारले गरेको सार्वजनिक अपिलपछि अमेरिकामा बस्दै आएका भगीरथ श्रेष्ठ र शिवराज गौतमको पहलमा उनीहरुसहित पचहत्तर जना सहयोगी हातहरुबाट तीन लाख ९ हजार ३ सय ५७ रुपैयाँ नगद सहयोग प्राप्त भएको हो ।
त्यसैगरी अष्ट्रेलियामा बस्दै आएका उर्लाबारीका प्रदिप कार्कीको पहलमा त्यहाँ सहयोगी दाताहरुले १ लाख ९२ हजार रुपैयाँ सहयोग रकम पठाएका हुन् ।सो अवसरमा वडा सदस्य रविन्द्र लिम्बू, स्थानीय युवा नविन श्रेष्ठ, नेपाल पत्रकार महासंघ कोशी प्रदेश कोषाध्यक्ष बिमल लामिछाने, प्रदेश समिति सदस्य बिष्णु सुब्बा, नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराईसहित छरछिमेकी र पीडित परिवारका सदस्यहरु उपस्थित थिए ।
बोनम्यारो पीडित श्रेष्ठको काठमाडौंस्थित सिभिल अस्पतालमा विशेषज्ञ डाक्टर विशेष पौडेलको टिमले उपचार गरिरहेको छ । उनलाई तत्काल १२ हप्ता सम्म चलाउनु पर्ने औषधी दिइएको र सोपछि मात्रै बोनम्यारो प्रत्यारोपणबारे निधो लिने चिकित्सकहरुलाई उदृत गर्दै श्रेष्ठ परिवारले जनाएको छ ।
धनबहादुरका दाजु रामकुमार श्रेष्ठको पनि एउटा मिर्गौला १७ बर्षअघिनै खराब भएर फँयाकिसकिएको छ । रामकुमार अहिले एउटा मिर्गौलाको भरमा मात्रै छन् । उनले शरीरको एउटा अंगनै नभएको अवस्थामा कडा परिश्रम गर्न र जिवनयापनमा निक्कै कठिनाई ब्यहोर्नु परिरहेको बताए ।
धनबहादुर र रामबहादुरका ७२ बर्षिय बुबाको पनि विर अस्पताल काठमाडौंमा उपचारपछि घर ल्याइएको छ ।