दमक,२१ माघ । दमक -८ स्थित पूर्वाञ्चल मन्टेश्वरी अंग्रेजी बोर्डिङ स्कुलले विद्यार्थी तथा शिक्षकहरुका लागि स्वास्थ्य बीमा कार्यक्रम शुरुवात गरेको छ ।आकस्मिक रुपमा हुने स्वास्थ्य समस्याबाट थोरै भएपनि राहतमा सहयोग पुरयाँउन विद्यालयले कार्यरत ,शिक्षक , कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरुका लागि बीमा कार्यक्रम सञ्चालनमा ल्याईएको हो । विद्यालयले सञ्चालन ल्याएको फरक किसिमको सो कार्यक्रमबाट शिक्षक,कर्मचारी र विद्यार्थीहरु गरि २७५ जना प्रत्यक्ष लाभान्वित भएका छन् ।
विद्यालयकी प्रिन्सिपल सविता पोख्रेल भट्टराईले गुणस्तरिय पठनपाठनका अतिरिक्त विद्यार्थी तथा शिक्षक ,कर्मचारीमा हुन सक्ने आकस्मिक स्वास्थ्य जोखिममा थोरै भएपनि राहत पुरयाँउन यस कार्यक्रम प्रभावकारी बन्दै गएको बताउँछिन् । गएको असारदेखि शुरु गरिएको यस कार्यक्रमबाट केहि विद्यार्थीले राहत समेत पाएका उनले बताईन् ।
उनका अनुसार त्यस बीमाबाट विद्यालयमा अध्ययनरत विद्यार्थीद्धय निशुम आङ्देम्वे (युकेजी ) लाई रु २५ हजार ५६० र नर्सरी कक्षाकी विद्यार्थी अयोध्या श्रेष्ठलाई ३० हजार २६० रुपैया प्रदान गरिएको छ । ती दुवै विद्यार्थी दुर्घटनामा घाईते भएकी र विमा वापतको रकम उपलव्ध गराईएको विद्यालयले जनाएको छ ।
विद्यालयले अभिभावक भेलाको अवसरमा थर्ड टर्मको परीक्षाफल सार्वजनिक गर्नुका साथै सो बीमा रकम सम्बन्धित विद्यार्थीका अभिभावकहरुलाई हस्तान्तरण गरिएको विद्यालयका निर्देशक माधव भट्टराईले जानकारी दिए । उनले विमा कम्पन्नीको सहकार्यमा विद्यालयले नै व्यहोर्ने गरि सो बीमा कार्यक्रम शुरु गरिएको बताए ।
विद्यार्थीको नियमित पठनपाठनका अतिरिक्त विद्यालयले स्रोत शिक्षकनै राखेर विद्यार्थीको क्षमता अभिबृद्धि गराउन गीतसंगीत, खेलकुद लगायतका गतिविधिहरु समत सञ्चालन गरिआएको छ ।