दमक ,२१ माघ । किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले लिम्बू याक्थुङ्हरुको थरीय एकताविना लिम्बू र याक्थुङ् जातिको सम्बृद्धि असम्भव हुने बताएका छन् ।
किरात योङ्हाङ् कुलवंश प्रतिष्ठान केन्द्रीय समिति झापाको माइधारमा शुक्रवार आयोजित ३४ औं साक्मुरा (गालीश्राप ) वदेम्मा तथा २७ औं साधारण सभाको उद्घाटनका क्रममा उनले लिम्बू जाति भित्रको सम्बृद्धिका लागि थर गत एकतामा जोड दिएका हुन् ।राजनीतिक शास्त्रका प्राध्यापक समेत रहेका येक्तेनले चुम्लुङले गर्दै गरेको प्रारम्भिक सर्वेक्षण अनुसार लगभग साढे तीन सयको हाराहारीमा रहेको लिम्बूका थरहरुले आ–आफ्नो थातथलो, माङ्गेन्ना यक लगायत आफ्नो वंश थरसँग सुरक्षित रहेको इतिहास र ऐतिहासिक पुरातात्विक विषयवस्तुहरु उजागर गर्ने काम धमाधम भइरहेको उल्लेख गरे ।त्यस अवसरमा उनले प्रतिष्ठानले तयार गरेको योङ्हाङ वंशावलीको बिमोचन गदैं बंशावली प्रकाशन गरेर आफनो वंशको इतिहासमा यस कार्य ऐतिहासिक भएको चर्चा गरे ।
लिम्बू याक्थुङ जातिको पुर्खाहरुले स्थापित गर्दै ल्याएका सभ्यतालाई आत्मसात गरे लिम्बू याक्थुङ समाजलाई सम्बृद्धशाली बनाउन अहिलेको पुस्ताको काँधमा आइपरेकोले सम्पूर्ण थरीय एकता भएर काम गर्नुको विकल्प नरहेको उनले भनाई राखे । उनले भने, –‘आदिवासी लिम्बू याक्थुङ जातिहरु अबको दिनमा धार्मिक, सांस्कृतिक, भाषिक तथा आफना कुल वंश र सिङ्गो लिम्बू याक्थुङ् जातिको सम्बृद्धिमा अघि बढ्नु नै चुनौती भएको छ, त्यसमा हामी सबैको ध्यान जानु पर्छ ’
त्यस्तै, शिवसताक्षी नगरपालिका प्रमुख मेघाहाङ् थोप्रो (रोशन ) ले आफ्नो वंश सुधार्न सकेमा मात्र देश र जनताको उन्नति र प्रगति हुने कुरा बताउदै आफ्ना कुल वंशको प्रगतिमा अघि बढ्न लाग्नु पर्ने उल्लेख गरे ।
हिल्लीहाङ फाउण्डेशनका अध्यक्ष हर्क योङहाङले योङहाङहरुको उच्च शिरको रुपमा संस्थापन हुँदै आएको हिल्लीहाङ् दरवारलाई आन्तरिक पर्यटकीयस्थलको रुपमा विकास गर्न सम्पूर्ण योङ्हाङ वन्धुहरु कम्मर कसेर लाग्नु पर्ने कुरामा जोड दिए ।
प्रतिष्ठानका अध्यक्ष धनराज योङ्हाङ्कको अध्यक्षतामा भएको कार्यक्रममा वंशावली सम्पादनका संयोजक अमृत योङ्हाङ्ले वंशावली पुस्तिकाको बारेमा बोलेका थिए भने अध्यक्ष योङ्हाङ्ले प्रतिष्ठानको प्रगति प्रतिवेदन र कोषाध्यक्ष नरदीप योङ्हाङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस्तै, वंशमा योगदान पुरयाँएवापत रामप्रसाद योङ्हाङ्, लक्ष्मी योङ्हाङ, नन्दराज योङ्हाङ्, देउमान योङ्हाङ, टेकबहादुर योङ्हाङ, पदमबहादुर योङ्हाङ, र मरणेपरन्त स्व.पदमबहादुर योङ्हाङ, स्व. नरबहादुर योङ्हाङलाई सम्मान गरिएको थियो । त्यसैगरि, गायिका सविना योङ्हाङ र पत्रकार जीवन योङ्हाङलाई पनि सम्मान गरिएको थियो ।