कमल कोशीकै पहिलो बालमैत्री गाउँपालिका घोषित

दमक ,२० माघ । झापाको कमल गाउँपालिका कोशी प्रदेशमै पहिलो स्थानीय सुशासनयुक्त बालमैत्री गाउँपालिका घोषणा गरिएको छ । कमल गाउँपालिका वडा नं ५ स्थित निर्माणाधिन आदिवासी रंगशाला परिसरमा गाउँपालिकाद्धारा शनिवार आयोजित घोषणा समारोहमा प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले कमल गाउँपालिकालाई बालमैत्री घोषणा गरे । घोषणा सभामा उनले कमल गाउँपालिकाले देशको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने काम गरेको बताए ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकार भविष्य निर्माणका आधारशीला बालबालिकाको स्वास्थ्य शिक्षासहित मौलिक हक अधिकारको कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । प्रदेश सरकारले १० बर्ष मुनिका बालबालिकाको निशुल्क स्वास्थ्य उपचार गर्ने बन्दोबस्ती मिलाएको बताउँदै उनले बालबालिकाहरु सुरक्षित नभएसम्म देशको भविष्य सुरक्षित बनाउन लाग्नु पर्ने जोड दिए ।
उनले भने ,–‘ मैंले सबै बालबालिका बिरामी हुँदा उपचार सेवा निशुल्क पाउने व्यवस्था मिलाएर के गल्ती गरें ?’ उनले भौतिक पूर्वाधारको बिकास मात्रैलाई बिकास ठान्ने र सामाजिक बिकासमा ध्यान नदिने हो भने देश सधैं पछि पर्ने औल्याए ।
ज्येष्ठ नागरिकका आश्रम, सामुदायिक भवन, मठ्मन्दिर आदिको लागि बजेट माग गरिनु राम्रो नभएको बताउँदै उनले त्यस्ता संरचनाहरु सम्बन्धित सरोकारवालाहरुको आफनै प्रयासबाट बनाइनु पर्ने धारणा राखे । पूर्वाधार बिकास भन्दा नागरिकहरुको सामाजिक र संवेगनात्मक बिकासमा जोड दिनु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले स्थानीय तह मध्ये कमल गाउँपालिका कोशी प्रदेशको चौथो बाल मैत्री स्थानीय तह र गाउँपालिकाहरु मध्ये पहिलो तथा देशभरको २३ औं बालमैत्री गाउँपालिका बनेको जानकारी गराएका थिए ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा प्रदेश सभा सदस्य होमबहादुर थापा, चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, कमल गापाकी पूर्व अध्यक्ष मेनुका काफ्ले ,प्याव्सन झापाका जिल्ला अध्यक्ष गौरीमान फागोसहित विभिन्न राजनीतिक दल, संघ संस्था, बाल क्लब सञ्जाल लगायतका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले बालमैत्री घोषणाको तयारी सम्बन्धिको प्रतिवेदन पेश गरेका थिए । उनका अनुसार कमल गाउँपालिकाको कूल जनसंख्याको २९ प्रतिशत बालबालिका रहेको छ । उनले पालिकाका गाउँ टोल मार्फत घर घरमा बालमैत्री घोषणाका लागि आवश्यक सुचकहरु पुरा भए नभएको तथ्याकं लिइएको उल्लेख गरे । पालिकाले २०७७ सालबाट कमललाई बालमैत्री घोषणा गर्ने लक्ष्य राखेको थियो ।
कमल बाल सञ्जालका बालबालिकाहरुले उदघोषण गरेको सो घोषणा कार्यक्रममा पालिकास्थित विभिन्न सामुदायिक र संस्थागत बिद्यालयहरुमा क्रियाशील बाल क्लबका बालबालिकाहरुले देशभक्ति बाल सचेतनामूलक र मनोरञ्जनात्मक गीत, नृत्य आदि प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । बिद्यालयमा अवस्थित स्काउटरहरुले मुख्यमन्त्री कार्कीसहित विशिष्ट व्यक्तित्वहरुलाइ सलामी अर्पण गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published.