दमक,२० माघ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च शिक्षा अध्ययनका लागि विदेश जानु पर्ने अवस्थाको अन्त्य हुने बताएका छन् ।दमक ४ स्थित अर्नाखाडीमा शुक्रवार दमक बहुप्राविधिक शिक्षालय भवनको शिलान्यासका क्रममा उनले अब जीवन र जीविकासँग जोडिएको शिक्षालाई सर्वसाधारणको पहुँचमा पुरयाँउदै उच्च शिक्षा अध्ययन गर्न विदेश जाने परिपाटी अव अन्त्य गर्न आवश्यक भएको औल्याए ।
प्रमाण पत्र मात्र पाउने शिक्षाले जीवनलाई परिवर्तन गर्न नसक्ने उल्लेख गदै ओलीले भने, –‘अव हाम्रो शिक्षा व्यवहारिक मात्र नभएर विदेशसम्म प्रमाणपत्र बिक्ने हैसियतको हुनुपर्छ , त्यसले मात्र उच्च शिक्षा अध्ययनका लागि विदेश जाने परिपाटी हट्ने छ ’
यहाँका सवै विकास, आवश्यकता र योजनाहरुका बारेमा आफु जानकार रहेको समेत चर्चा गदैं यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रहेका ओलीले शिक्षालय भवनसम्म आउने सडक कालोपत्रे अब तुरुन्तै हुने बताए ।
सो क्रममा ओलीले शिक्षालयको भवन तोकिएकै समयमा पूरा गर्न समेत निर्देशन दिए भने भवन निर्माणका लागि जग्गा दान गर्ने दाताहरुलाई सम्मान समेत गरेका थिए ।
कार्यक्रममा दमक नगरपालिकाका नगरप्रमुख राम कुमार थापाले केही योजनाहरु निर्माण शुरु भएर पनि निर्माण व्यवसायीको ढिलासुस्तीले पूरा हुन नसकेको बताए । उनले पूर्व प्रधानमन्त्री ओली समक्ष त्यस्ता योजनाहरुको निर्माणलाई तिव्रता दिने वातावरण बनाई दिन समेत आग्रह गरे ।
कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्की, संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, सिटीईभिटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, सदस्य सचिव जीवनारायण काफ्ले लगायतको उपस्थिति रहेको थियो ।