दमक ,१८ माघ । वर्कफर नेपालले झापाका विभिन्न गाउँपालिकामा सञ्चालित चार वटा स्वास्थ्य संस्थालाई रु १ करोड ७१ लाख मूल्य बराबरका विभिन्न स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको छ । स्थानीय तहले सञ्चालनमा ल्याएका अस्पताल तथा स्वास्थ्य चौंकीलाई थप सुविधा सम्पन्न बनाउन सघाँउ पुरयाँउन वर्कफर नेपालले दातृ संस्था हेल्पिङ हेण्ड फर रिलिफ एण्ड डेप्लमेन्ट (युएसए) को सहयोगमा यसवर्ष जिल्लाका चार वटा स्वास्थ्य संस्थालाई अस्पतालजन्य सामग्रीहरु प्रदान गरिएको वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीले जानकारी दिए ।
उनका अनुसार कमल गाउँपालिका ७ स्थित प्रादेशिक आयुर्वेद अस्पताललाई रु ४१ लाख ५४ हजार मूल्य बराबरका ,बिर्तामोड नगर अस्पताललाई रु ६८ लाख ६८ हजारको , अर्जुनधारास्थित खुदुनावारी स्वास्थ्य चौकीलाई रु २५ लाख १४ हजार र कुमोरखोदमा रहेको स्वास्थ्य चौंकीलाई रु ३६ लाख मूल्य बराबरको अस्पतालजन्य सामग्री प्रदान गरिएको छ । तीन दिनका अवधिमा ती सामाग्रीहरु स्वास्थ्य संस्थामै पुगेर सहायता सामाग्रीहरु हस्तान्तरण गरिएको उनले बताए ।
मंगलवार प्रादेशिक आयुर्वेद अस्पतालका सामाग्री कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदान गरेका थिए भने बुधबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबाट बाहुलीबाट विर्तामोड नगर अस्पताल र अर्जुनधाराको खुदुनावारी स्वास्थ्य चौकीलाई ती स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका थिए । बिहीवार कोशी प्रदेश सभाका सदस्य तथा पूर्वमन्त्री भक्ति सिटौलाको प्रमुख आतिथ्यतामा कुमरखोदमा रहेको स्वास्थ्य चौकीलाई अस्पतालजन्य सामग्री हस्तान्तरण गरिएको वर्कफर नेपालका अध्यक्ष अधिकारीले जानकारी दिए ।
अस्पताललाई आवश्यक पर्ने वर्थिङ वेड, इसिजी, सर्जिकलका सामान, अक्सिजन कन्सन्ट्रेटर लगायतका अस्पतालजन्य सामग्रीहरु रहेका छन् ।
वर्कफर नेपालले दातृ संस्था हेल्पिङ हेण्ड युएसएको सहयोगमा छ वर्षदेखि जिल्लामा सञ्चालित स्वास्थ्य संस्थाहरुलाई हालसम्म रु ८ करोड बढी मूल्यका स्वास्थ्य सामग्रीहरु उपलव्ध गराईएको अध्यक्ष अधिकारीले बताए । वर्कफरले स्वास्थ्य ,शिक्षासंगै समुदायमा आधारित खानेपानी तथा सरसफाई, सीपमूलक तालिमहरु सञ्चालन गरि स्वरोजगारमा समेत सहयोग पुरयाँउदै आएको छ ।
हेल्पिङ हेण्ड युएसएले देशका सातवटा जिल्लामा यस किसिमको स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सञ्चालनमा रहेको हेल्पिङ हेण्डका कार्यक्रम व्यवस्थापक जीवप्रसाद पोख्रेलले बताए ।