संखुवासभा,१५ माघ । संखुवासभाको भोटखोला गाउँपालिका- ५ का ७३ बर्षीय गोठे राईको कुटपिटबाट मृत्यु भएको छ भने बुबालाई कुटपिट गरी हत्या गरेको आरोपमा निजकै छोरा प्रेमकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गत शुक्रबार राति ११ बजेको समयमा बाबु छोरा बिच घरायसी बिषयमा सामान्य वादविवाद भएको र वादविवादकै क्रममा छोराले बुबालाई लाठीले कुटपिट गर्दा घाईते भएका गोठेलाई उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।
छोराको कुटपिटको कारण बुबाको मृत्यु भएको भन्ने सूचना पाए संगै प्रहरी चौकी स्याक्सिगोलाबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो । हत्या आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
भोजपुरको अरुण गाउँपालिका २ का ५५ बर्षीय ज्ञानबहादुर श्रेष्ठलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।शनिबार अपरान्ह ४ बजे श्रीमान श्रीमती वीच घरायसी विषयमा सामान्य वादविवाद भएको भएको र वादविवादकै क्रममा रिसको आवेगमा श्रेष्ठले ४१ बर्षीया श्रीमती गंगा श्रेष्ठलाई घाँटी थिचेर हत्या गरि मल खाडिमा पुरेको भन्ने सूचना पाएसंगै प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरि घर आएका श्रेष्ठले मादक पदार्थको सनकमा श्रीमतीको हत्या गरेको र हत्या पश्चात घटनालाई ढाकछोप गर्न नजिकै रहेको मल खाडीमा खाल्डो खनी पुरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।