दमक,१५ माघ । दमक ८ मा भुमी आयोग झापाद्धारा जारी भुमीहिन, दलित तथा अव्यवस्थित बसोबासीहरुको जग्गाको निस्सा प्रमाण पत्र दिन शुरु गरिएको छ ।वडा कार्यालयमा शनिवार एक कार्यक्रमकाबीच दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले जग्गा धनी प्रमाण पूर्जा प्राप्तिका लागि आधारभूत प्रमाण पत्रका रुपमा आयोगद्धारा जारी निस्सा प्रमाण पत्र वितरण कार्यको थालनी गरे ।
वडाध्यक्ष धर्मप्रसाद दाहालले जग्गा धनी प्रमाण पूर्जाका लागि ५९६ वटा आवेदन दर्ता भएका र ति मध्ये हाल २९८ जनाको निस्सा प्रमाणपत्र वितरण कार्य शुरु गरिएको बताए । निस्सा जारी भएका अन्य वडाबासीले कार्यालय समयमा वडामा आएर आफनो प्रमाण बुझेर निस्सा लैजान सक्ने व्यवस्था रहेको वडा सचिव निधि ढुंगेलले जानकारी दिए । निस्सा वितरण शुभारम्भ कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँ, वडास्थित जनप्रतिनिधिहरु, राजनीतिक दल, सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतको आतिथ्यता रहेको थियो ।
दमकका १० वटै वडामा आयोगको समन्वयमा भूमिहीन,अव्यवस्थित,दलित भूमिहीनहरुलाई जग्गा धनीपुर्जाका लागि निस्सा प्रमाणपत्र दिने काम भईरहेको नगरपालिकाले जनाएको छ ।