केवलकार निर्माणका असन्तुष्ट पक्षलाई वार्तामा आउन आह्वान

झाा,१५ माघ । कोशी प्रदेश सरकारले पहिचानवादीहरूलाई वार्तामा आउन आह्वान गरेको छ। सरकारले गठन गरेको वार्ता समितिको आज बसेको बैठकले प्रदेशमा असन्तुष्ट रहेका पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो।

केही दिनदेखि ताप्लेजुङ लगायतका क्षेत्रमा भइरहेको आन्दोलनलाई लिएर प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउँदै वार्ताको लागि आह्वान गरेको हो।कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना नेतृत्वको समितिको बैठकले औपचारिक रुपमा वार्ताको आव्हान गरेको हो।

ताप्लेजुङ पाथिभरा क्षेत्रमा केवलकार निर्माणको काम अगाडि बढिरहेको सन्दर्भमा केवलकार निर्माणमा असन्तुष्टी जनाउने पक्षहरूसँग वार्ताको माध्यमबाट विवाद समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले बताए। ‘असन्तुष्ट पक्षहरुसँग प्रदेश सरकारबाट गठित वार्ता समिति औपचारिक रुपमा वार्ताको लागि आव्हान गर्दछ’, बैठकको निर्णयमा भनिएको छ।

प्रदेश सरकारले गत मंसिर २४ गते मन्त्री रानाको संयोजकत्वमा भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राई, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमल थापासहितको समिति बनाएको थियो।

घाइते भएकाहरूको उपचार सरकारले गर्ने
ताप्लेजुङको पाथीभरामा केबलकार निमार्णको विषयमा भएको झडपका क्रममा घाइते भएकाहरूको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ ।मंगलबार सिंहदरबारमा गृहमन्त्री, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखसहितको बैठकले घाइतेको उपचार खर्च ब्यहोर्ने लगायतका निर्णय गरेको हो ।

त्यस्तै, घटनाबारे थप बुझेर समाधानका लागि वार्ता समिति गठन गर्ने निर्णय पनि भएको वार्तामा सहभागी एक सांसदले जानकारी दिए । घटनाबारे भोलि (बुधबार) संस्कृति, पर्यटन तथा उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेसँग छलफल गर्ने बताइएको छ ।

मंगलबार भएको छलफलमा गृहमन्त्री रमेश लेखक, ताप्लेजुङका सांसद योगेश भट्टराई र उर्मिला थेवे, इलाम क्षेत्र नम्बर २ का सांसद सुहाङ नेम्वाङ, नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही लगायत सहभागी थिए ।छलफलमा प्रहरी महानिरीक्षक कुँवरले घटनाको पछिल्लो अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

पाथीभरामा केबुलकार निर्माणको काम रोक्न स्थानीयले माग गर्दै आएका छन् । ‘नो केबुलकार समूह’ को नामबाट सोमबार प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो । सोमबार केबुलकार निर्माणको विषयमा विवाद हुँदा प्रहरीले गोली चलाएको थियो । सो क्रममा दुई जना घाइते भएका थिए । त्यसैगरी भागदौडमा एक जना गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।मुक्कुमलुङ संरक्षण र केबुलकार खारेजी संघर्षरत संस्थाका प्रतिनिधिहरूले १५ माघदेखि अनिश्चितकालीन बन्द आह्वान गरेका छन् ।

Leave a Reply

Your email address will not be published.