फिदीम नपाले दस हजार किरिया खर्च दिने

फिदिम ,१५ माघ । फिदिम नगरपालिकाले नगरका सबै नागरिकलाई किरिया खर्च बापत दस हजार रुपियाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको माघ १० गतेको बैठकले यस्तो निर्णय गरेको हो ।
नगरपालिकाले व्यक्तिगत घटनाको सूचीकरणलाई प्रभावकारी बनाउन कोखदेखि शोकसम्म विविध कार्यक्रममार्फत मृतक परिवारलाई किरिया खर्च, विपन्न, असहाय, ज्येष्ठ नागरिक र असहायलाई टेवा पुग्ने विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
नगर कार्यपालिका बैठकका निर्णय नगरपालिकाले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । बैठकले ‘विपन्नसँग नगर प्रमुख’ कार्यक्रमसम्बन्धी मापदण्ड २०८१ स्वीकृत गर्दै नगरपालिकामा काल गति वा जुनसुकै कारण ज्यान गुमाएका मृतकका परिवारलाई काजकिरिया गर्न १० हजार रुपियाँका दरले रकम उपलब्ध गराउने भएको नगरप्रमुख मित्रप्रसाद काफ्लेले बताए ।
‘कोखदेखि शोकसम्म’ कार्यक्रम मार्फत छुटसहितको एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको काफ्लेको भनाइ छ । गर्भवती महिला, ७५ वर्षमाथिका ज्येष्ठ नागरिक र ‘क’ वर्गको अपाङ्गता परिचय बाहकलाई जिल्ला अस्पतालसम्म ल्याउन र घर फर्काउनका लागि शत प्रतिशत छुट दिने निर्णय भएको हो ।
ज्येष्ठ नागरिक र अपाङ्गता भएका ‘क’ वर्गको परिचय पत्र बाहक बाहेक नगर क्षेत्रका सबै नागरिकलाई एम्बुलेन्स उपयोग गर्दा १० प्रतिशत छुट दिइने पनि नगरपालिकाले जनाएको छ ।
यस्तो सुविधा लिन सेवाग्राहीले नजिकको स्वास्थ्य संस्थाको विशेषज्ञ वा स्वास्थ्यकर्मीको सिफारिस लिनुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, नगर क्षेत्र भित्र आयोजना गरिने मेला, महोत्सव, सांस्कृतिक तथा खेलकुद प्रतियोगिताहरूका लागि नगरपालिकाले आर्थिक सहयोग गर्दा नगरपालिकालाई स्वतः प्रवद्र्धक र मुख्य प्रवद्र्धक हुने सर्त राखेर सहयोग गर्ने निर्णय गरिएको हो ।
अबदेखि तीन लाखभन्दा माथिको आर्थिक सहायता उपलब्ध गराउँदा नगरपालिकालाई अनिवार्य रूपमा मुख्य प्रवद्र्धक स्वीकार गर्नुपर्ने निर्णय भएको नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.