धनकुटा, १४ माघ । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी नौ जनाभन्दा बढी घाइते भएका छन् ।धनकुटा -५ तल्लो टुँडिखेलस्थित महोत्सवस्थलमा क्षमताभन्दा बढी दर्शक भएपछि घटना भएको प्रहरीले जनाएको छ ।घटनामा गम्भीर घाइते भएका ४ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।
गत माघ ६ देखि शुरु भएको महोत्सवको नवौ दिन शनिबार साँझ गायक प्रमोद खरेलको सांगीतिक प्रस्तुति सुरु हुन केही क्षणअघि घटना भएको प्रहरीको भनाई छ । मुस्किलले ३ हजार क्षमता रहेको स्थानमा दोब्बर दर्शकको भीड रहेको थियो ।
दुई तर्फको महोत्सवस्थलको गेट बन्द गरिएपछि बाहिर उल्लेख्य भीड बढेको थियो । अत्यधिक भीड रहेको बेला एकैपटक बन्द गरिएको गेटको ढोका खोल्दा ठेलमठेल हुँदा घाइते भएको जनाइएको छ । उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव घटनापछि तत्काल सञ्चालनमा रोक लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले बताइन् ।कन्सर्ट हेर्न आउनेहरूको भीडमा परी घाइते भएकाको विवरण र क्षति भने यकिन हुन नसकेको कलाकार संयोजन समितिका संयोजक रिदम श्रेष्ठले जानकारी दिए ।