शिवसताक्षीमा फर्मालिन प्रयोग भएका माछा नष्ट

झापा ,१४ माघ । शिवसताक्षी नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । यसक्रममा अनुगमन टोलीले ‘फर्मालिन’ रसायनको प्रयोग गरिएको ४४ केजी माछा जफत गरेको छ । शिवसताक्षी–६ स्थित शिवगञ्ज बजारमा नगरपालिकाको टोलीले अनुगमनका क्रममा फर्मालिन प्रयोग भएको माछा जफत गरी नष्ट गरेको उपप्रमुख नरमाया कार्कीले बताइन् ।
भारतबाट आयातित मरेका माछालाई ताजा देखाउन फर्मालिन रसायनको प्रयोग हुने गरेको जनगुनासो आएपछि नगरपालिकाले गत सातादेखि त्यस्तो माछाको बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो ।
स्थानीयवासीले शिवगञ्ज बजारमा भारतबाट आयातित मरेका माछा आइतबार बिक्री भइरहेको जानकारी नगरपालिकालाई दिएका थिए । लगत्तै उपप्रमुख कार्कीको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाम्फे, राजस्व शाखा प्रमुख विमल बाँस्कोटा, नेपाल प्रहरी र नगरप्रहरीलगायतको टोलीले सो स्थानमा पुगेर माछा जफत गरेको थियो ।

Leave a Reply

Your email address will not be published.