‘संवाद यात्रा’ मा महामन्त्री थापा, सर्वसाधारणहरुले राखे ‘समस्याको चाङ’

गौरीगञ्ज , १३ माघ । नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियान अन्तर्गत आजदेखि महामन्त्री गगनकुमार थापाले शुरु गरेका ‘संवाद यात्रा’ का क्रममा नागरिकहरुले स्वागतसँगै समस्याहरुको पोको थुपारेका छन् ।
शनिबार भद्रपुरको मेची पुलबाट झापा चोकहुँदै नवनिर्मित हुलाकी मार्गमा नागरिकहरुसँग ठाउँ ,ठाउँमा संवाद र भलाकुसारी गर्दै हिंडेका नेता थापामाथि नागरिकहरुले बिकास निर्माण र सुशासनको बिषयमा पनि ध्यानाकर्षण गराएका थिए ।
झापा चोकदेखि जलथल , राजगढ , झापा बजार हुँदै आएका उनलाई सो क्षेत्रमा रहेका नेपाल भारत सीमा क्षेत्रका समस्याहरु, नदी कटान, हात्ती लगायत वन्यजन्तुबाट उत्पन्न समस्याहरुको चाङ लागेको थियो ।
कन्काई नदीमा निर्माणाधिन पक्की पुलको अवस्थाबारे स्थलगत जानकारीसहित सो ठाउँको यात्रा गरिरहेका पूर्व मन्त्री समेत रहेका थापालाई जनप्रतिनिधि, पार्टी प्रतिनिधि एवं सर्वसाधारण नागरिकहरुले खोलामा पूल नहुँदाको समस्याहरुबारे महत्वकासाथ ध्यानाकर्षण गराए ।

कुञ्जीबारीमा महामन्त्री थापालाई स्थानीय बालकल्याण माविका प्रअले स्थलगत अवलोकन गराउदै दरवन्दी मिलानका लागि आफना समस्या सुनाएका थिए ।
त्यसपछि कुन्जीवजारमा आयोजित संक्षिप्त संवाद गरेका उनलाई गौरीगञ्ज १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी र नेपाली कांग्रेस गौरीगञ्ज १ का वडा सभापति विनोद राजवंशीले बुँदागत रुपमा सो भेगका समस्याहरु र नागरिकहरुका आवश्यकताबारे ध्यानाकर्षण गराएका थिए ।

सोपछि महामन्त्री थापालाई गौरीगञ्ज ६ खजुरगाछीस्थित शिवालय मन्दिर प्राङगणमा स्वागत गरेका थिए । सो क्रममा नेपाली कांग्रेस गौरीगञ्ज गाउँ समितिका तर्फबाट केर्खा–क्याम्पा–कुञ्जीबारी हुँदै बोर्डर जोडने सडक कालोपत्रे गर्न, हुलाकी मार्ग अन्तर्गतका निर्माणाधिन पक्की पूल निर्माणलाई पूर्णता दिन, सो क्षेत्रमा रहेको अव्यवस्थित तथा भुमिहीनहरुको व्यवस्थापन, गौरीगञ्ज क्याम्पसको स्तरोन्नती, आठमौजा छोटी भन्सारको सञ्चालनमा देखिएको समस्याको नीतिगत समाधान लगायतका बिषयहरु समेटिएको ज्ञापन पत्र बुझाइएको कांग्रेस गौरीगञ्जका गाउँ सभापति अघ्नु प्रसाद राजवंशीले जानकारी दिए । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेता थापाले गौरीगञ्ज अस्पतालको समेत स्थलगत अवलोकन गर्दै त्यहाँको आवश्यकताबारे जानकारी लिएका छन ।
गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष समेत रहेकी कांग्रेस नेतृ फुलवती राजवंशी, गौरादह नगरपालिकाका पूर्व प्रमुख एवं महासमिति सदस्य रोहितकुमार साहसहित स्थानीय नेताहरुले विबिध समस्याहरुबारेमा जानकारी गराएका छन् ।

संवाद यात्रा झापा हुदै मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुगेर माघ २६ गते सकिने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.