दमक बन्यो भोजपुर मेयरकप भलिबलको विजेता

भोजपुर, १३ माघ । दमक नगरपालिकाले भोजपुरमा सञ्चालित प्रथम मेयरकप अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।स्थानीय टुडिखेलमा आज भएको फाइनलमा भोजपुरको षडानन्द नगरपालिकालाई तीन सेटमै हराउँदै दमक नगरपालिका विजेता बन्न सफल भएको हो । शुक्रबार भएको सेमिफाइनलमा भोजपुरको आमचोक गाउँपालिकालाई हराउँदै दमक नगरपालिका र भोजपुर नगरपालिकालाई पछि पार्दैै षडानन्द नगरपालिका फाइनलमा प्रवेश गरेका थिए ।

विजेता दमक नगरपालिकाले नगद रु एक लाख र उपविजेता षडानन्द नगरपालिकाले नगद रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने सेमिफाइनलमा पुगेका दुई टिमले पनि रु २५–२५ हजार पाएका छन् ।भलिबल खेललाई प्रोत्साहन गर्ने उद्देश्यका साथ पहाडी जिल्ला भोजपुरमा यही माघ १० गतेबाट सञ्चालन भएको अन्तरपालिकास्तरीय भलिबल प्रतियोगितामा भोजपुर नगरपालिका, दमक नगरपालिका, षडानन्द नगरपालिका, आमचोक गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, अरुण गाउँपालिका र साल्पासिलिछो गाउँपालिका गरी आठवटा टिमले सहभागिता जनाएको आयोजक जिल्ला खेलकुद विकास समिति भोजपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.