दमक,१३ माघ । दमक ५ स्थित वडा बाल सञ्जालले नगर स्तरीय बक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । दिपिनी आधारभूत विद्यालयमा भएको नगरस्तरिय प्रतियोगिताको वक्तृत्वकला तर्फ झापा मोडल अंग्रेजी माध्यमिक विद्यालय (जेम्स ) र हाजिरीजवाफ प्रतियोगितातर्फ हिमज्योति माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ ।
शुक्रबार सम्पन्न भएको प्रतियोगिता अन्तर्गत हाजिरीजवाफ प्रतियोगितामा हिमज्योति माध्यमिक विद्यालय प्रथम, हिमालय माध्यमिक विद्यालय द्धितिय र झापा मोडल अग्रेजी माध्यमिक विद्यालय तृतिय भए ।
यसैयरि वक्तृत्वकला अन्तर्गत जेम्स कक्षा ९ का विद्यार्थी प्रतिक खनाल प्रथम, सुर्योदय अंग्रेजी माध्यमिक विद्यालयका इशान केरुङ द्धितीय र भृकुटी माध्यमिक विद्यालय दमककी भूमिका लाखे तेस्रो बनिन् ।
वडा कार्यालयको सहयोगमा भएको सो कार्यक्रम अन्तर्गत विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्न वडा बाल सञ्जालले यसकिसिमको कार्यक्रम गरेको वडा बाल सञ्जालका सचिव दिवस वाग्लेले बताए।
वक्तृत्वकलामा विद्यार्थीहरुले उठाएका विषय र उनीहरुको प्रस्तुति निकै गहकिलो र वडाले बनाउने योजनामा समेट्न योग्य विषयहरुको समेत समावेश भएकाले आफुहरुको ध्यानाकर्षण भएको वडा नं ५ का वडासदस्य गोपाल कृष्ण संग्रौलाले बताए ।प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको वडा सचिव निधिनारायण ढुङ्गेलले जानकारी दिए । नगर स्तरिय सो प्रतियोगितामा दमकका विभिन्न २१ वटा विद्यालयको सहभागिता रहेको थियो ।