
झापा,१२ माघ । राष्ट्रिय सभा सदस्यका लागि सातवटै प्रदेशको राजधानीमा बुधबार मतदान हुँदैछ । मतदानका लागि आठ मतदान स्थल र १४ मतदान केन्द्र तयार गरिएको छ । निर्वाचन आयोगले सातवटै प्रदेशमा मतदानका लागि बुथ निर्माण भइसकेकाले बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान सम्पन्न भएको केहीबेरमै मतगणना सुरु गर्ने तयारी गरिएको जानकारी दिए । बुधबार अबेरसम्म सातै प्रदेशको परिणाम आउने गरी मतगणना गर्ने तयारी छ । उनले भने–“मतदानपछि मतगणना निर्देशिकाबारे राजनीतिक दलका प्रतिनिधि र उम्मेदवारलाई जानकारी गराइनेछ, लगत्तै गणना कार्य सुरु हुनेछ ।”
प्रत्येक मतदान केन्द्रमा १० जना कर्मचारी नियुक्त गरिएका छन् । राष्ट्रिय सभाको रिक्त रहेको १९ पद छ वर्षे कार्यकालका लागि मतदानबाट चयन हुनेछ । निर्वाचनमा कुल ४३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यस निर्वाचनमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । प्रदेश सभा सदस्यका लागि हरियो तथा स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि रातो रङ्गको मतपत्रको व्यवस्था गरिएको छ । प्रदेशअनुसार उम्मेदवार र दल फरक रहेकाले सबै प्रदेशका मतपत्र अलग–अलग छन् । प्रदेशमा रिक्त रहेको क्लस्टरबमोजिम मतपत्रको सङ्ख्यासमेत फरक रहनेछ । प्रदेश १ मा तीन पदका लागि निर्वाचन हुने हुँदा प्रत्येक मतदाताले तीनवटा मतपत्र पाउने छन् ।
निर्वाचन आयोगले कोभिड–१९ को बढ्दो जोखिमका बीच मतदान र मतगणनाका लागि स्वास्थ्य निर्देशिका नै जारी गरेको छ । प्रवक्ता पौडेलले सबै मतदातालाई निर्देशिकाको पालना गरी आफू र अन्य मतदातालाई सुरक्षित रहने गरी मतदान गर्न अपिल गरेका छन् । निर्देशिका बमोजिम मतदाताले पहिचान खुल्ने परिचय पत्र र कोभिड–१९ विरुद्धको दुवै खोप लिएको कार्ड देखाएपछि मात्रै मतदान स्थलमा प्रवेश दिइने आयोगले जनाएको छ । उनका अनुसार कोभिड–१९ विरुद्धको खोप नलगाएका मतदाताले कोभिड पोजेटिभ भएको रिपोर्ट वा ४८ घण्टाभित्र पीसीआर गरिएको निगेटिभ रिपोर्ट देखाउनुपर्नेछ ।
कुनै जटिलता आए मतदानबाट वञ्चित नहुने गरी सम्बन्धित निर्वाचन अधिकृतलाई निर्णय लिने अधिकार दिइएको छ । सातवटै प्रदेशमा कुल दुई हजार २५ मतदाता छन् । यस निर्वाचनमा ५३२ प्रदेश सभा सदस्य र एक हजार ४९३ स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता छन्। स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ रहेको छ ।
निर्वाचनको नतिजा आजै :आयोग
१९ पदका लागि हुन लागेको राष्ट्रिय सभा निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको आयोगका प्रवक्ता पौडेलले बताएका हुन् । ‘कुनै विघ्न बाधा आएन भने मत परिणाम आजै रातिसम्म सार्वजनिक हुने आयोगको अपेक्षा छ,’ पौडेलले भने ।
राप्रपाले प्रदेश १ बाहेक अन्यत्र मतदान नगर्ने
राप्रपाले पार्टीको उम्मेदवार नभएका प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको छ । मंगलबार बसेको राप्रपाको केन्द्रीय पदाधिकारीको बैठकले प्रदेश १ बाहेकका प्रदेशमा उम्मेदवार नभएकाले मतदानमा सहभागी नहुने निर्णय गरेको हो ।
‘यही माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश १ मा पार्टी उम्मेदवारहरु अम्बर बहादुर विष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न निर्देशन दिने र अन्य प्रदेशहरुमा पार्टी उम्मेदवार नभएकाले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरुलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरियो ।,’ राप्रपाका महामन्त्री भुवन पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।