झापामा २३ हजार दुई सय सवारी कारवाहीमा

झापा,११ माघ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले पाँच दिनमा सवारी नियम उल्लङ्घन गर्दै हिँड्ने एक हजार तीन सय ११ वटा सवारीलाई कारवाही गरेको छ ।
सवारी नियम उल्लङ्घन गर्दै हिँड्ने सवारी र चालकलाई कारवाही गर्दा आठ लाख ८२ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ । आफना मातहतमा रहेको १८ वटा युनिटले हप्ताको दुईपटक ग्रामीण सडकमा छड्के चेकजाँच गर्ने क्रममा सवारी नियम उल्लङ्घन गर्दै हिँड्ने एक हजार ६ सय ५ जना चालक तथा सहचालकलाई ‘स्पट’ मै सवारी नियम सम्बन्धी प्रशिक्षण समेत प्रदान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक निशेष चापागाँईले बताए ।
स्थानीय सरकार सञ्चालनको पाँच वर्षमा सडक निर्माणलाई प्राथमिकता दिएसँगै गाउँका भित्री सडक समेत फराकिला र अधिकांश सडक कालोपत्रे भएकाले सवारी तीव्र गतिमा गुड्ने गरेको पाएपछि गाउँ–गाउँमा ट्राफिक चेकजाँच शुरु गरिएको ट्राफिक प्रहरीको भनाइ छ । चालू आर्थिक वर्षको ६ महिना दश दिन (साउन १देखि माघ १० गते) सम्ममा झापामा २३ हजार दुई सय सवारी साधनले ट्राफिक नियम उल्लङ्घन गरेको उल्लेख छ ।
उनीहरुलाई ट्राफिक प्रहरीले कारवाही गर्दा एक करोड ५६ लाख २२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । यो अविधिमा जिल्लामा भएका सवारी दुर्घटनामा परी ६७ जनाले ज्यान गुमाएका छन् । तीन सय १३ वटा सवारी दुर्घटनामा ४ सय ५५ वटा सवारीमा क्षति पुगेको छ । दुर्घटनामा ४ सय ९७ जना घाइते छन् ।
गाउँ–गाउँमा ट्राफिक प्रहरी
जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘हर प्रहर गाउँ र नगरी, गाउँ–गाउँमा ट्राफिक प्रहरी’ अभियान सञ्चालन गरेको छ ।
जिल्लाका ग्रामीण क्षेत्रमा पछिल्लो समय सवारी साधनको दुर्घटना बढेको भन्दै सोको न्यूनीकरणका लागि ग्रामीण क्षेत्रमा सो अभियान सञ्चालन गरिएको कार्यालयका प्रमुख निशेष चापागाईंले जानकारी दिए । जिल्लाभरका १९ वटा ट्राफिक प्रहरी बिटमा कार्यरत ट्राफिक प्रहरीलाई परिचालन गरेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आएको उनले बताए । माघ ४ गतेदेखि सञ्चालित अभियानअन्तर्गत ग्रामीण भेगका ३८ स्थानका सडकमा ट्राफिक चेकिङ, सवारी चालक, सहचालक र सर्वसाधारण गरी एक हजार ६०५ लाई ट्राफिक शिक्षा प्रदान गरिएको कार्यालयले जनाएको छ ।
त्यस्तै हुस्सु र रातको समयमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी साधनमा फग लाइट र टल्किने स्टिकर टाँस्न थालिएको छ भने सवारी चालक तथा सहचालकलाई तीव्र गतिमा सवारी साधन नचलाउन निर्देशन दिँदै आइएको प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताए ।

Leave a Reply

Your email address will not be published.