
झापा,१० माघ । राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि प्रदेश नं १ मा सबै तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरले यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको तीन सिटको निर्वाचनका लागि सबै तयारी पूरा भएको हो ।
निर्वाचनका लागि आयोगले प्रदेश निर्वाचन कार्यालय विराटनगर–१० र वाली संरक्षण प्रयोगशाला विराटनगर–१० मा गरी दुई स्थानमा मतदान केन्द्र स्थापना गरिएको कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए । मतदान बिहान ९ बजेदेखि ३ बजेसम्म हुने जनाईएको छ ।
उक्त निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र ), नेकपा (एकीकृत समाजवादी ) र जनता समाजवादी पार्टी नेपाल (गठबन्धन दल ) बाट तीन, नेपाल कम्युनिष्ट पार्टी (एमाले ) बाट तीन र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई उम्मेदवार रहेका छन् ।
गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसबाट गोपाल बस्नेत ( झापा ), एमालेबाट गुरु बराल (मोरङ) र राप्रपाबाट अम्बरबहादुर विष्ट (झापा) , महिलाका लागि गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी जयन्ती राई (भोजपुर ) र एमालेबाट सुमीत्रा भण्डारी (झापा ) र राप्रपाबाट रञ्जु प्याकुरेल ( झापा) रहेकी छन् ।
अल्पसंख्यकमा गठबन्धनबाट जसपाका हेमराज राई थुलुङ (भोजपुर ) र एमालेबाट सोनाम ग्याल्जेन शेर्पा ( सोलु ) उम्मेदवार रहेको निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभाका ९२ र १३७ स्थानीय तहका २७२ मतदाता रहेका छन् । प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ भने स्थानीय तहको १८ हुने कार्यालयले जनाएको छ ।
माघ १२ गते नै मतगणना गरी सोही दिन विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण गरिने छ । आयोगले मतदाताले मत खसाल्नका लागि निर्वाचित आयोगले विजयी हुँदा दिएको दिएको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र र राष्ट्रिय परिचयपत्रमध्ये एकको आधारमा मतदान गर्न दिने व्यवस्था गरेको छ ।