रञ्जितलाई जिताउन ५५५ सदस्यीय निर्वाचन परिचालन कमिटी

दमक,१० माघ । झापा-५ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रन्जित तामाङ जिताउन पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतको नेतृत्वमा ५५५ सदस्यीय मुल निर्वाचन परिचालन समिति घोषणा गरिएको छ ।
शनिवार दमकमा आयोजित निर्वाचन क्षेत्र स्तरीय भेलाबाट सो समिति घोषणा भएको हो। यस क्षेत्रमा पार्टीका केन्द्रीय सदस्य रञ्जित तामाङ उम्मेदवार वनेका छन्।
बस्नेत राष्ट्रिय युवा परिषदका निवर्तमान कार्यकारी उपाध्यक्ष हुन्। नवगठित निर्वाचन परिचालन कमिटीमा बस्नेत सहित पार्टीका केन्द्रीय सदस्य दिपेनवाला राई, बीरेन्द्र बस्नेत, गगन पुरी, सबै प्रदेश समिति सदस्यहरु, जिल्ला समिति सदस्यहरु, पालिका समितिहरु सवै र वडा समिति पदाधिकारीहरु रहेका छन् । यस्तै ,बैठकले केन्द्रीय सदस्य प्रविण चाम्लिङ्लाई अनुगमन समिति प्रमुखको जिम्मेवारी दिएको छ ।
चुनावी अभियानलाई तिब्रता दिन केन्द्रीय सदस्यहरु रहेको हाइकमाण्ड र केन्द्रीय सदस्य, प्रदेश सदस्य र पालिका अध्यक्षहरु रहेको ४९ सदस्यीय सचिवालय समेत गठन गरिएको छ । मुल परिचालन समितिको सदस्य सचिवमा साविक माओवादीका क्षेत्रीय संयोजक सन्तोष गौतम रहेका छन्।
नवगठित निर्वाचन परिचालन समितिको प्रचारप्रसार विभाग प्रमुखमा दिपेनबाला राई, आर्थिक विभाग प्रमुखमा वीरेन्द्र बस्नेत, वार्ता तथा अन्तरपार्टी समन्वयमा गगन पुरी र स्वयंसेवक विभाग प्रमुखममा डम्बर पुलामी रहेका छन् ।
त्यसैगरी शिक्षक–वुद्धिजिवी समन्वयमा रमेश गुरागाई, महिला विभाग प्रमखममा अनिषा झाँगर, क्षेत्र वाहिरका मतदाता समन्वयमा ओम बस्नेत, कार्यालय विभागमा दुर्गा चौलगाई, सुकुमबासी समन्वय विभागमा वेदु गौतम, मजदुर समन्वय विभागमा प्रशान्त भण्डारी, उम्मेदवार प्रतिनिधिमा शंकर बस्नेत रहेका छन्। यस्तै जवस मोर्चा समन्वयमा हुकुम संह, जेष्ठ नागरिक समन्वयमा नगेन्द्र सावा रहेका छन् ।
यसैगरी कार्यविभाजन अनुसार क्षेत्रका चारवटा पालिका मध्ये दमकको वीरेन्द्र बस्नेत, कमल गाउँपालिका दिपेनवाला राई, गौरादहको गगन पुरी र गौरीगञ्ज कार्यालयले हेर्ने तय भएको छ ।
निर्वाचन परिचालन समितिका संयोजक बस्नेतले जनाए अनुसार १२ गते सबै पालिकाको बैठक, १३ गते सवै वडाहरूको बैठक बस्ने तय भएको छ । यसैगरी १४ गतेबाट घरदैलो कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

Leave a Reply

Your email address will not be published.